पोखरा। नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका नयाँ कार्यसमितिको पदस्थापना गरिएको छ ।

सङ्घले एक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमितिको पदस्थापना गराएको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक गोकर्ण कार्कीले नयाँ कार्यसमितिलाई पदस्थापना गराएका हुन् ।

सङ्घको नयाँ कार्यसमितिको अध्यक्षमा महेशबहादुर थापा गणेश, उपाध्यक्षमा विक्रम थापा, सचिवमा मेघराज त्रिपाठी, कोषाध्यक्षमा बाबुराम घिमिरे, सहसचिवमा गणेशकुमार श्रेष्ठ तथा सदस्यहरूमा विनायक बराल, दिनेश बोहोरा, नारायणबाबु दानी, राजन जोशी, सन्तोष श्रेष्ठ, चन्द्रबहादुर क्षेत्री अर्जुन, कृष्णकुमार मल्ल रहेका छन्  ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा प्रतिनिधि सभा सदस्य राजु थापाले यातायात प्राधिकरण गठन गर्न सदनमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे।

‘यातायात व्यवसायका समस्या समाधान गर्नका लागि यातायात प्राधिकरणको आवश्यकता छ, तपाईँहरूले उठाउँदै आएको आवज पनि यहि हो’ प्रतिनीधि सभा सदस्य थापाले भन्नुभयो, ‘व्यवसायीको हक हितका लागि अबको सदनमा यातायात प्राधिकरण गठन गर्न जोडदार माग गर्ने छु ।’

पछिल्लो समय यातायात व्यवसायीहरूले युरोपियन देशका जस्तै उच्चस्तरीय सवारी साधनहरू ल्याएको बताउँदै उनले यसलाई अव प्रविधि सँगै जोडेर जानुपर्ने सुझाव दिए।

गण्डकी प्रदेश सरकारले रातो प्लेटमा चल्ने साधनलाई नयाँ एप मार्फत सेवा दिन तयारी थालेको वेला उनले सस्तो लोकप्रियता कमाउनका लागि दीर्घकालीन असर गर्ने खालका निर्णय नगर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले व्यवसायलाई प्रविधि मैत्री बनाउन महासङ्घ सँधै तयार रहेको बताए।

‘यातायात व्यवसायीले ठूलो चुनौतीकाबीच पनि व्यवसायमा ठूलो लगानी गरेका छन् तर सरकार विभिन्न एपका बहानामा रातो प्लेटलाई व्यवसाय गर्न स्वीकृति दिदैँ छ’ उनले भने, ‘व्यवसायीले यातायात क्षेत्रमा गरेको यो लगानीलाई अवमूल्यन गर्नु राज्यको कमजोरी हो । हामीले प्रविधिको विरोध गरेको होइन । आउनुहोस् बसेर छलफल गरौँ समस्याको समाधान निकालौँ ।’

उहाँले यातायात व्यवसायलाई सम्बोधन गर्ने गरी यातायात प्राधिकरण गठन गर्न सकेमा यातायातमा देखिएका समस्या हल हुँदै जाने बताए ।

लोतान्त्रिक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष महेश बहादुर थापा (गणेश)को अध्यक्षक्तामा भएको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मूल्मी, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासङ्घ नेपालका महासचिव केदारनाथ पौडेल, केन्द्रीय सल्लाहकार सरद अधिकारी, वाग्मती प्रदेश अध्यक्ष रामप्रसाद सुवेदी, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अजित क्षेत्री, महाधिवेशन प्रतिनिधि लक्ष्मी पाण्डे, ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, नेपाल यातायत मजदुर सङ्घ गण्डकीका अध्यक्ष किरणवावु पन्त निर्वाचन समिति सदस्य भानुभक्त बरालले बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0