पोखरा । पोखरा महानगरपालिकामा हाल कर्मचारी परिचालन तथा व्यवस्थापनका सम्बन्धमा देखिएको समस्या समाधानका लागि सहजीकरण समिति गठन भएको छ । महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं.२५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाको संयोजकत्वमा बुधवार नगरप्रमुख स्तरीय निर्णय अनुसार ९ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सदस्यहरूमा पोखरा महानगरपालिका वडा नं.४ का वडा अध्यक्ष देवकृष्ण पराजुली, वडा नं.५ का वडा अध्यक्ष विष्णु प्रसाद बराल, वडा नं.१३ का वडा अध्यक्ष किरण बराल, वडा नं.१५ का वडा अध्यक्ष तोरण बानिया, नगर सभा सदस्यहरू विनोद लामिछाने, रामचन्द्र आचार्य, कृष्ण कुमारी पौडेल र डाल्डादेवि भुजेल रहेका छन् ।

समितिलाई महानगरपालिकामा पछिल्लो समय देखिएको कर्मचारी परिचालन तथा व्यवस्थापन समस्याका सम्बन्धमा ३ दिन भित्र समस्या समाधानको उपाय सहितको सुझाव पेस तथा सहजीकरण गर्ने कार्यादेश दिइएको छ ।

समितिको सदस्यमा रहेका पोखरा १३ का वडा अध्यक्ष किरण बरालले भने आफू समितिमा नरहेको जानकारी गराएका छन् । आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले आफू समितिमा नरहेको स्पष्ट पारेका छन् ।

उनी लेख्छन्- “यो खास के हो? लोकसेवाले स्थायी कर्मचारी पठाएको छ । कार्यपालिकाले करारका २८ कर्मचारी मंसिरदेखि हटाउने निर्णय गरेको छ । अनि यो समिति के को लागि? हामीले जनतालाई जवाफ दिनु पर्दैन? समिति गठन पनि सल्लाहले नै गरेको भए हुने । दलहरूको सम्बन्ध विगारेर पर्दा पछाडीबाट राजनीतिक लाभ लिने जुन चेष्टा भएको छ, यसको घोर भर्त्सना गर्दछु । फुटाउ र राज गर भन्ने मानसिकता अब कामयावी हुने छैन । म यो समितिमा नरहेको जानकारी गराउँदछु । साथै करार कर्मचारी हटाउने कार्यपालिका बैठक कार्यान्वयनको माग गर्दछु । जय होस्, जय पोखरा ।“

 पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरा महानगरपालिकामा कर्मचारी परिचालन र व्यवस्थापन सम्बन्धमा भएका पछिल्ला गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । कार्यपालिकाले गरेका निर्णयलाई मजाक नबनाउन उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0