पोखरा । पोखरामा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । यहीँ कार्तिक २४ गते “रन फर कमन प्रोस्पेरिटी” भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको हो । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको व्यवस्थापक हिमालयन टुरिजम फोरमले प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।

हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्व शङ्कर पालिखेले प्रतियोगिताको लागि चीनबाट १ सय ३४ जना सहभागी र समर्थकलाई लिएर कुनमिङबाट पोखरामा चार्टर फ्लाइटको आगमनले प्रतियोगितामा अन्तराष्ट्रिय महत्व थपेको बताए । साथै आगामी वर्ष हुने प्रतियोगितामा विदेशी खेलाडीहरूको सहभागिता बढाउनका लागि प्रचारप्रसारमा विशेष जोड दिइने र त्यसका लागि स्थानीय सरकारको पनि थप सहयोग र साथ चाहिने उल्लेख गरे ।

प्रतियोगताका मिडिया संयोजक प्रतीक राज पहारीले ४ वटा विधामा हुने दौडमा १ हजार २ सय भन्दा बढी खेलाडीहरूले सहभागिता जनाउने जानकारी दिए । उनका अनुसार टिम समूह दौडमा खेलाडीहरूले ५० किमि दूरीमा ट्रेल रनिङ साइक्लिङ र रोइङ गर्नुपर्नेछ ।

यस दौडमा १७ वटा नेपाली टिम र ४ वटा चिनिँया टिम गरेर कुल २१ टिमका लागि ६३ जना खेलाडीहरू दर्ता भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो हुने टोलीलाई मेडल तथा प्रमाणपत्रसहित क्रमश नगद रु ४ लाख ५८ हजार ४ सय, ३ लाख ४३ हजार ८ सय, २ लाख २९ हजार २ सय, १ लाख ५२ हजार ८ सय, र ९५ हजार ५ सय प्रदान गरिनेछ ।

च्यालेन्ज इन्डिभिजुअल ग्रुप (महिला र पुरुष)मा १ सय नेपाली र ५२ जना चिनियाँ गरेर १ सय ५२ जना खेलाडीले सहभागिता जनाउनेछन् । उनीहरूले ५० किलोमिटरको ट्रेल दौडमा सहभागी हुनेछन् । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो हुने टोलीलाई मेडल तथा प्रमाणपत्र सहित क्रमश नगद रु १ लाख ५२ हजार ८ सय, १ लाख १४ हजार ६ सय, ७६ हजार ४ सय तथा चौथो देखि सातौँ सम्मका विजेताले क्रमश जनही नगद रु ३८ हजार २ सय, आठौँ देखि दशौं सम्मका विजेताले नगद रु १९ हजार १ सय पाउनेछन् ।

विद्यार्थी दौडमा पोखराका ५ सय जनाले सहभागिता जनाउने भएका छन् । उक्त दौड ५ किमिको हुने छ । विजेता खेलाडीहरूले क्रमश जनही नगद रु ३० हजार, २५ हजार र २० हजार तथा चौथो देखि छैटौँ सम्मका विजेताहरूले समान नगद रु १०–१० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । मनोरञ्जनात्मक रमाइलो दौड २ किलोमिटरको हुनेछ । यस विधामा ५ सय ७९ जना सहभागी बन्नेछन् ।

पोखरा महानगरपालिका, नेपालस्थित चिनिँया राजदूतावास, नेपाल पर्यटन बोर्ड, र हिमालयन टुरिजम फोरमको आयोजनामा प्रतियोगिता सम्पन्न हुन लागेको हो । यसैगरी चेम्बर अफ कमर्स, होटल सङ्घ नेपाल पोखरा, पोखरा पर्यटन परिषद, युवा परिषद, नेपाल खेलकुद पत्रकार पञ्च, नेपाल खेलकुद परिषद लगायतका विभिन्न सङ्घ, संस्थाहरूसँगको साझेदारी र सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।

कार्यक्रम अन्तरगत कार्तिक २३ गते शुक्रबार बसुन्धरा पार्कमा बिहान साढे ८ बजे स्प्रिङ सिटीको अनावरण र साढे ९ बजे अन्तरराष्ट्रिय पर्वतिय संग्राहलयमा फोटो प्रदर्शनी गरिनेछ । त्यस क्रममा खेलकुद परिषद्लाई युनान खेलकुद ब्यूरोले खेल सामग्री तथा उपकरण प्रदान गर्ने कार्यक्रम छ । क्रस कन्ट्रि प्रतियोगिताको उद्घाटन शनिबार बिहान साढे ७ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1