पोखरा । चलचित्र ‘अग्निदहन’ को बिहीबार ट्रेलर सार्वजनिक गरिएको छ । बोक्सी अन्धविश्वासविरुद्ध कथावस्तुमा निर्माण भएको चलचित्रको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएको हो । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ’अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको यो चलचित्र मंसिर ७ गतेबाट देशभर रिलिज हुँदैछ ।
चलचित्र लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । निर्देशक लामिछाने एउटा डरलाग्दो विषयलाई चलचित्रमा उठान गरिएको बताउँछन् । चलचित्र मार्फत दर्शकले मनोरञ्जन साथै शिक्षा पाउने उनले खुलाए । सामाजिक कथामा बनेको चलचित्र भएकोले सफल हुने उनको विश्वास छ । ९० मिनेट अवधिको चलचित्रले दर्शकको ध्यान खिच्ने दावी उनका छ ।
चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए । उनका अनुसार चलचित्र अङ्ग्रेजी भाषामा पनि सब टाइटल गरिएको छ भने हिन्दी भाषामा समेत डबिङ तयारी गरिएको छ । उनले समाजमा बोक्सी छैन भन्ने सन्देश दिनका चलचित्र निर्माण गरिएको बताए । चलचित्रको प्रचार प्रसारको लागि कलाकार सहित देशदौडाहामा निस्कने तयारी गरिएको उपाध्यायले जनाए ।
चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बाँस्तोला, ताराबहादुर गुरुङ लगायतको अभिनय हेर्न पाइन्छ ।
चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन छ। सिनेमाका संरक्षक मोहनराज पौडेल हुन् ।
यो चलचित्रलाई मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो । बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएर छोड्ने अठोटका साथ २०७१ सालमा प्रतिष्ठान स्थापना भएको थियो । यसअघि झण्डै ५ सय विशेष सो मार्फत विभिन्न ठाउँमा यो चलचित्र प्रदर्शन भएको थियो । निर्माण भएको लामो समयपछि सार्वजनिक रुपमा हल मार्फत प्रदर्शन गर्न लागिएको यो चलचित्रको छायाँङ्कन पोखरा आसपास गरिएको हो ।
चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्रकर्मीहरू शिवजी लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, प्रमिला तुलाचन, तुलसी क्षेत्री, मोहनराज पौडेल लगायतले चलचित्र अग्निदहनका बारेमा बोलेका थिए । चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीका कार्यबहाक अध्यक्ष अर्पण तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए ।