पोखरा । पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको आन्दोलन जारी रहेको छ । महानगरको ३७ औँ कार्यपालिका बैठकले गरेका निर्णयप्रति असहमति जनाउदै उनीहरूले मङ्गलबारबाट आन्दोलन सुरु गरेका थिए।
आज बुधबार पनि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल पोखरा महानगर समिति, नेपाल निजामती कर्मचारी सङ्गठन पोखरा महानगर समिति र स्थानीय तह कर्मचारी सङ्घ नेपाल पोखरा महानगर समितिमा आवद्ध कर्मचारीले महानगरको कार्यालय प्राङ्गणमा हातमा कालोपट्टी बाँधेर बिहान ११ बजेबाट १२ बजेसम्म एकघण्टा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूको विरोध कार्यक्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधिले समेत साथ दिएका थिए ।
पोखरा महानगरपालिकामा संस्थागत सुशासन कायम गर्न र विधिको शासन कायम गर्न कर्मचारीको माग छ । ३७ औँ नगर कार्यपालिकाले गरेका अवैधानिक निर्णय खारेज गर्न, महानगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी तुरुन्त कार्यान्वयन गर्न तथा कर्मचारी माथिको राजनीतिक पूर्वाग्रह र भेदभाव बन्द गर्न उनीहरूको आग्रह छ ।
पोखरा महानगरको कात्तिक १५ गते बसेको ३७ औँ कार्यपालिका बैठकले महानगरमा सेवारत १० जना इन्जिनियर र १८ जना सबइन्जिनियरलाई हटाउने निर्णय गरेको थियो । उक्त बैठकमा एमालेका तर्फबाट विजयी वडाध्यक्ष र कार्यपालिका सदस्य अनुपस्थित थिए । माग सम्बोधन नभइन्जेलसम्म आन्दोलन जारी राख्ने बताइएको छ । भोलि बिहीबार छठ पर्वको सार्वजनिक बिदा परेकोले शुक्रबार पुनस् विरोध कार्यक्रम गरिने स्थानीय तह कर्मचारी सङ्घ नेपाल पोखरा महानगर समितिका अध्यक्ष रेशम जिसीले जानकारी दिए ।