पोखरा । पोखरामा छठ मनाउन तयारी सुरु भएको छ । पोखराको फेवाताल किनार केदारेश्वर मन्दिरको क्षेत्रमा रहेको पार्वती छठघाटमा छठ पर्व मनाउन घाट निर्माण, रङ्गरोगन तथा सरसफाइका कार्य गरिएको छ । नेपाल भारत व्यवसायी छठ पूजा समितिको आयोजनामा हुने पूजालाई व्यवस्थित बनाउन तयारीमा तिव्रता दिइएको समितिका अध्यक्ष विश्राम कुशवाहाले बताए । कार्तिक २२ गते अपरान्ह साढे ३ बजेदेखि साँझ ७ बजेसम्म र २३ गते बिहान साढे ३ बजेदेखि बिहान ७ बजेसम्म छठपूजा गरिने उनले जानकारी दिए । २०६८ सालदेखि केदारेश्वर मन्दिरको घाटमा छठ पूजा गर्न थालिएको उनले जनाए ।
समितिका अध्यक्ष कुशहावाले आफूहरूले आयोजना गर्ने पूजामा पाँच सय व्रतालु सहभागी हुने बताए । झण्डै ८० जना साथीहरू मिलेर यो काम गर्दै आएको बताएका उनले पहिला तराईवासी र भारतीयले पूजा गर्ने गरेको भएपनि अहिले पहाडको दिदीबहिनीले समेत पूजा गर्ने गरेको सुनाए । पूजाको सबै व्यवस्था समितिले गर्ने उनको भनाइ छ ।
समितिका पूर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहकार भुनेश कुमार ठाकुरले छठ प्रकृतिको पूजा रहेको र यो सबैले मनाउनुपर्ने बताए । पहाडमा केही वर्षदेखि यसलाई मनाउन सुरु गरिएको भएपनि तराइमा सबै धर्मावलम्बीले यसलाई मनाउने उनको भनाइ थियो । ३१ वर्षदेखि पोखरामा बसेको बताएका उनले यहाँ छठ मनाउने व्यवस्था नहुँदा घरमा जानुपर्ने बाध्यता भएको र सबैलाई घरमा जान सम्भव नहुने भएकोले यहीं मनाउन पर्यो भनेर सुरु गरिएको बताए । सुरुमा तालबाराही मन्दिर नजिक पूजा गरिने गरिएको भएपनि त्यतिबेला व्यवस्थापन समेत राम्रो नहुँदा सहभागिता थोरै हुने गरेको बताए । यसपालि १ हजार जति सहभागी बन्ने उनको अपेक्षा छ ।
समितिका संस्थापक अध्यक्ष बलिराम ठाकुरले पूजापाठको लागि मात्र भनेर समिति बनाएको बताए । यसमा पोखरामा बसोबास गर्न नेपालको तराइ र पहाड तथा भारतबाट पोखरामा आएका समेत रहेका छन् । यो समितिले बोलबमको समयमा पनि सक्रियता देखाउने गरेको ठाकुरले सुनाए । बाराहीघाटमा डुङ्गाको कारण डिस्टर्ब भएको कारण ठाउँ परिवर्तन गरिएको बताए ।
पोखराको नदीपुरको नारायणस्थान मन्दिर परिसर र रिठ्ठाघाट त्रिवेणीधाम सेतीनदी किनारा कालिखोलामा समेत छठ पूजा गर्ने गरिएको छ । पुजा कार्यक्रममा तराईका विभिन्न जिल्लाका साथै भारतबाट व्यापार तथा रोजगारका लागि नेपाल आएर परिवारसहित बसोवास गर्दै आइरहेकाहरू सहभागी बन्नेछन् ।