पोखरा । नेपाल सम्वत् ११४५ को स्वागतार्थ पोखरामा भिन्तुना शुभकामना र्याली निकालिएको छ । नेवा: खलः कास्कीको आह्वान तथा बागबजार ताय मचा: समितिको आयोजनामा निकालिएको न्हुँ दया भिन्तुना र्याली पोखराको बागबजारबाट सुरु भएको थियो । र्याली विन्ध्यवासिनी, मोहरियाटोल, भैरवटोल हुँदै भिमसेन टोल हुँदै नेवा छेँ भवनमा आएर समापन समारोहमा परिणत भएको थियो ।
समापन समारोहमा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा देशका ६२ जिल्लामा जन्मेका व्यक्तिहरू पोखरामा बस्ने गरेको डाटाले देखाएको ८० भन्दा बढी जातीको बसोबास रहेको बताए । कतिपय संस्कृति जोगाउन गाह्रो भएको हुनसक्ने भन्दै महानगरपालिकाले जातजाति, धर्म, संस्कृति र साहित्यलाई जोगाउनका लागि गरिने कार्यक्रममा सहयोग गर्दै आइरहेको दावी गरे ।
प्रमुख आचार्यले नयाँ पुस्तामा भाषा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । कतिपय जातजातिको भाषाको लिपि नभएर बोलीचाली मात्र रहेको भन्दै भाषालाई जोगाउन महानगरपालिकाले सबै खाले सहयोग गर्न तयार रहेको भन्दै त्यसको सदुपयोग गर्न आग्रह गरे । नेपालमा बोलिने भाषाका अतिरिक्त धेरै पर्यटक आउने देशका भाषा जान्न जरूरी हुने भन्दै त्यो खालका भाषा जान्न चाहनेलाई २० जनाको समुह बनाएर महानगरमा आएको खण्डमा भाषाका कक्षा सञ्चालन गरिने प्रष्ट पारे । उनले सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेको नेवा खल कास्कीको भवनमा बाँकी रहेको निर्माण कार्यमा सहकार्य गर्ने प्रतिवद्धता समेत जनाए ।
नेवा खल कास्कीका वरिष्ठ उपाध्यक्ष तीर्थ श्रेष्ठले स्वागत गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङले शुभकामना मन्तव्य राखेका थिए ।
र्यालीमा सहभागी ४० वटा समुह मध्ये रूपा देउराली नेवा: खल: प्रथम बन्दै नगद २५ हजार हात पार्यो । यसैगरी फेदी नेवा: खल: द्वितीय, झिगु भाय् झिगु संस्कति पुच: तृतीय र भिमसेनटोल मिस पुच: सान्त्वना भए । उनीहरूलाई पनि नगद पुरस्कार प्रदान गरियो । र्यालीको निर्णायकमा निरञ्जन बजिमय, सुरेश कुमार श्रेष्ठ र सोनी ढेवाजु रहेका थिए ।
नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको समापन समारोहको सञ्चालन महासचिव श्रीकृष्ण कतिलाले गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष पालिखेले यस्ता कार्यक्रमले तीन तहका सरकारले पर्यटिकय राजधानी पोखरा भनेर गरेकोलाई सघाउ पुर्याउने बताए । सबै जातजातिको कार्य्रक्रममा सबै जातजाति जाने वातावरण सिर्जना गर्नुपर्नेमा उनको जोड थियो । उनले महानगरको क्यालेन्डरमा यहाँका विभिन्न जातजातिले मनाउने पर्व तथा आयोजना गर्ने र्यालीको बारेमा राखेर व्यापक प्रचार प्रसार गर्न आग्रह समेत गरे ।
झण्डै २५ सयको हाराहारीमा सहभागिता रहेको कार्यक्रममा कास्की जिल्लामा रहेका ४८ वटा कचा खल, ३१ वटा ल्याम्ह पुच: र ४३ वटा मिस पुच: सहितका नेवारी समुदायका विभिन्न संस्थाका अलावा ब्राम्हण समाज, क्षत्री समाज, तमु धि कास्की, मिरुवा तमु समाज, ह्याल्मो समाज, नेपाल मगर समाज, चौधरी समाज, नेपाल तामाङ घेदुङ, हिमाली सांस्कृतिक परिवार, मञ्जुश्री तामाङ बौद्ध समाज लगायतको समेत सहभागिता रहेको महासचिव कतिलाले बताए ।
नेपाल संवतका शुरुवातकर्ता तथा राष्ट्रिय विभुति शंखधर शाख्वाप्रति सम्मान र श्रद्धा बढ्ने विश्वासका साथ भिन्तुना र्याली निकालिएको हो । नेवार समुदायमा प्रचलित म्हः पुजाको दिनदेखि नेपाल सम्वतको नयाँ बर्ष प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक बर्ष पोखरामा भिन्तुना र्याली निकाल्ने गरिएको छ ।