पोखरा । गत संस्करणको विजेता साङ्ग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लबले रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा आफ्नो यात्रा तय गरेको हो ।

कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा जारी ‘कास्की जिल्ला अन्तर क्लब स्तरीय एक दिवसीय क्रिकेट च्याम्पियनसिप २०८१’ को समुहको विजेता बनेको हो । ८१ रनको विजयी लक्ष्य पाएको सांग्रिला १३.५ ओभरमा ६९ रनमा अलआउट हुन पुग्यो । साङ्ग्रिलाका लागि सिबृन श्रेष्ठले ३५ रनको उत्कृष्ट पारी खेलेपनि उनको विकेट पतनसँगै टोली सङ्कटमा परेको थियो । उनले ३४ बलमा ६ चौका र १ छक्काको मद्दतमा ३५ रन बनाएका थिए । उनी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । ओपनर मेघनाथ खनाल १, राकेश गुप्ता ५, अरुण अधिकारी ४, सनम बुढा १ रनमा आउट भए भने, सुदीप पौडेल, विराट दवाडी, सुमिट शेरचन, सागर बस्याल र भुवन रेग्मी शून्यमै पेभिलियन फर्किए ।

पोखराका लागि सुवास भण्डारीले ७ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । देव शाहले ५.५ ओभरमा ३१ रन खर्चंदै ४ र अनिष खड्काले १ विकेट लिए ।
त्यसअघि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पोखरा २७.१ ओभरमा ८० रन बनाउँदा अलआउट हुन पुग्यो । पोखराका लागि ओपनर मुस्कान थापाले १८ रन बनाए । अर्जुन बुढाथोकी १, मनिष भण्डारी ७, सुवास भण्डारी १२, रोशन पौडेल ११, अनिष खड्का ८, रोहन चन्द २, अमन सुवेदी ४ रनमा आउट भउ भने देव शाह र सागर भुजेल शून्यमै पेभिलियन फर्किए ।

साङ्ग्रिलाका लागि भुवन रेग्मीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सिबृन श्रेष्ठ र सुदीप पौडेलले २/२ तथा सुनम बुढा, सागर बस्याल र सुमिट शेरचनले १/१ विकेट लिए । जितसँगै पोखराको कुल ४ अङ्क रह्यो । साङ्ग्रिला र यस अघि नै बाहिरिएको लेकसाइडको १/१ अंक रहेको छ ।

१२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद र पोखरा महानगरपालिकाको सहयोग रहेको छ । पिएम कपको जिल्ला छनोटको रुपमा समेत रहेको प्रतियोगिताको समुह ए मा साङ्ग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् । समुह बि मा माछापुच्छ्रे क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युथ क्रिकेट क्लब रहेका छन् भने समुह सि मा राइजिङ क्रिकेट क्लब, अरण्य ज्योति क्रिकेट क्लब र गण्डकी स्पोर्ट्स क्रिकेट क्लब रहेका छन । भोलिको खेल  कास्की क्रिकेट क्लब विरुद्ध माछापुच्छ्रे क्रिकेट क्लबबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0