पोखरा । पोखरामा प्रदेशस्तरीय ‘ज्येष्ठ वामपन्थी मिलन कार्यक्रम’ हुने भएको छ । कार्तिक ९ र १० गते हुने कार्यक्रमको तयारीमा तीव्रता दिइएको ज्येष्ठ वामपन्थी मिलन कार्यक्रम गण्डकीका संयोजक कृष्णप्रसाद आचार्यले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।  २००७ साल यता नेपालमा भएका सबै जनआन्दोलन तथा राजनीतिक क्रान्तिमा योगदान पुर्‍याएका ज्येष्ठ वामपन्थी व्यक्तित्वहरूको स्मरण र एकापसमा अनुभव आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक आचार्यले बताए ।

कार्यक्रममा सहभागी हुन गण्डकी प्रदेशका सबै जिल्लाका जुनसुकै कम्युनिष्ट पार्टीमा रहेर या स्वतन्त्र रुपमा काम गरेका वामपन्थी ज्येष्ठ नागरिकहरूलाई आयोजकले निमन्त्रणा गरेका  छन् ।  कार्यक्रममा महिला तथा दलित तथा जनजातिको हकमा ६५ वर्ष र अन्यको हकमा ७० वर्ष टेकेको, २०४६ साल पूर्व वामपन्थी आन्दोलनमा सहभागि वा  संलग्न भएर योगदान गरेका ज्येष्ठ नागरिकहरू सहभागी हुन पाउने छन् ।  सहभागीहरू कार्तिक ९ गते बिहान १० बजे पोखरा जिरो किलोमिटरमा उपस्थित हुनुपर्नेछ ।

देशमा गणतन्त्र स्थापनाका लागि तत्कालीन समयमा कैयौँ व्यक्तित्वहरूले स्वदेश तथा विदेशमा रहेर भूमिगत तथा खुलारूपमा सङ्गठित हुँदै जेल, नेल तथा कठोर यातना सहेका थिए । तीमध्ये कतिपय व्यक्तिहरूको निधन भइसकेको र बाँकी रहेकाहरू हाल उमेर र सक्रियताका दृष्टिले जीवनको उत्तरार्धमा पुग्दै गरेको जनाउँदै उनीहरूको योगदानलाई पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्नका लागि कार्यक्रम फलदायी हुने संयोजक आचार्यले विश्वास व्यक्त गरे ।

प्रदेशका झण्डै ५ सय ज्येष्ठ वामपन्थीलाई खबर गरिएकोले दुई सयभन्दा बढीको सहभागितामा कार्यक्रम सम्पन्न हुने आयोजकको अपेक्षा रहेको छ । कार्यक्रममा उपस्थित भएकाको अनुभवलाई श्रव्यदृश्य माध्यमबाट अभिलेखीकरण गर्ने समेत आयोजकको तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0