पोखरा । पोखरामा रगतको अभाव भएको छ । चाडपर्व तथा डेङ्गु लगायतका रोगको महामारीका कारण रगतको अभाव भएको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए ।
पोखरामा मात्र दैनिक ८० युनिट रगतको माग हुने गरेको भए पनि अहिले रगत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको उनले जनाए । यो रगतको अभावलाई अन्त्य गर्नको लागि रक्तदानका कार्यक्रम गर्न उनले सबैलाई आग्रह समेत गरेका छन् । ‘पोखरामा दैनिक ८० युनिट रगतको माग छ, चाडपर्व लगायतका कारण रक्तदान कार्यक्रम हुन सकेनन्, स्टक रहेको रगत पनि सकियो, त्यहीं भएर रक्तदान कार्यक्रम गर्न अनुरोध गरेका छौँ’ उनले भने ।
रगतको अभाव हटाउन प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराको पहलमा कार्तिक १२ गतेसम्म लगातार रक्तदान कार्यक्रम गरिने उनको भनाइ छ । ती कार्यक्रममा सहभागी बनेर रक्त्तदान गर्न उनले अनुरोध गरेका छन् ।
पोखरामा गण्डकी प्रदेशको विभिन्न जिल्लाबाट उपचारका लागि मानिसहरू आउने भएकाले पनि पोखरामा रगत अभाव हुने गरेको नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा पौडेल बताउँछन्। उनले पनि रक्तदानका कार्यक्रमलाई तीव्रता दिन आग्रह गरेका छन् । कास्कीमा सङ्कलन हुने रगत गण्डकी प्रदेशका अन्य जिल्लाका साथै चितवनमा समेत पुग्ने गरेको छ ।
१ सय ३१ युनिट रगत सङ्कलन
रगतको अभावलाई पुरा गर्न लायन्स क्लब अफ पोखरा आदर्श चौतारीसँगको समन्वयमा सोमबार पोखरामा आकस्मिक रक्तदान कार्यक्रम आयोजना भयो । नेपाल रेडक्रस सोसाइटी कास्की, प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराको पहलमा पोखराको महेन्द्रपुलमा सम्पन्न कार्यक्रममा १ सय ३१ युनिट रगत सङ्कलन भएको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष सूर्य प्रसाद पोखरेलले जानकारी दिए ।