पोखरा । पूर्वमन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ । पार्टी र विचार भन्दा माथि उठेर नागरिकका प्रत्यक्ष सरोकार र विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै, पोखरा १६, तुम्केमा रहेको नमुना क्लबले नेता खड्कालाई विशेष कार्यक्रमकाबीच नागरिक अभिनन्दन गरेको हो ।

पोखरा १६ को प्रवेशद्वार केआई सिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा गरी खड्कालाई विशेष प्रकारले सजाइएको गाडीमा राखी र्‍याली सहित नगर परिक्रमा गराइएको थियो भने महेन्द्र गुफादेखि तुम्केसम्म पैदल यात्रा गरिएको थियो ।

सडकका दायाँ बायाँ रहेका हजारौं सर्वसाधारण नागरिकले नेता खड्कालाई फुल, माला र अबिर लगाएर सम्मान गरेका थिए भने सर्वसाधारणले आ आफ्नो घर अगाडि र चोक चोकमा फुलको घडा राखी स्वागत समेत गरेका थिए ।

र्‍याली तथा पैदल यात्रापछि आयोजित कार्यक्रममा खड्कालाई, वयोवृद्ध समाजसेवी सोमबहादुर गुरुङ, मुक्तिप्रसाद भट्टराई, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र क्लबका अध्यक्ष मीनबहादुर गुरुङले अभिनन्दनपत्र प्रदान गरी सम्मान गरे ।

कार्यक्रममा पूर्वमन्त्री खड्काले जनताको मन जित्ने गरी आफूले कार्यकाल पुरा गरेको र अझै जनताको पक्षमा निरन्तर लागि रहने प्रेरणा प्राप्त गरेको बताए । क्लबका अध्यक्ष मीनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्वअध्यक्ष एवं आजीवन सदस्य जीवन आचार्य, हिमालय क्लबका अध्यक्ष मोहनबहादुर थापा, क्लबका सहसचिव दिपकबहादुर केसी लगायतले वडाको समग्र विकासमा नेता खड्काले पुर्‍याएको योगदानको प्रशंसा गर्दै, जनप्रेमी नेताले सधैँ नागरिकको मन जित्ने बताए । अन्य नेतालाई खड्काको सिको गर्न र देश तथा नागरिकको पक्षमा काम गर्न सुझाव समेत दिएका छन् ।

सङ्घीय सांसद हुँदा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री र पछि गण्डकी प्रदेश सरकारका भौतिक योजना, पूर्वाधार विकास र यातायात व्यवस्था मन्त्री बनेका खड्काको कार्यकालमा पोखरा १६, १९ र २० नम्बर वडामा विकास निर्माण, खानेपानी, सामुदायिक भवन, महिला सशक्तिकरणको क्षेत्रमा निकै फड्को मारेको थियो ।

उनको कार्यकालमा २१ वटा पक्की पुल, १२ वटा झोलुङ्गे पुल, ५५ दशमलव २५ किमि सडक कालोपत्रे, ४९ दशमलव २ किमि सडक ग्रावेल भएका थिए भने १ अर्व २२ करोड राजश्व संकलन समेत भएको थियो । अमला विसौनी घार्मी आलेवारी सडक, घार्मीखोला अर्मलाकोट सडक, जुम्लेटी हरिपाउँ सडक लगायतका अधिकांश ग्रामिण सडकको स्तरोन्नती तथा कालोपत्रे, ढलान गर्न उनको भुमिका रहेको बताईएको छ ।

पोखराको यातायात व्यवस्थामा समेत खड्काको कार्यकालमा सुधार आएको वताईएको छ । पोखराका दुर्गम वडाको रुपमा परिभाषित भएका अधिकांश वडामा उनको कार्यकालमा भारी वजेट विनियोजन गरी विकासको नमुना प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0