पोखरा । गुरुङ फिल्म एशोसियसन हङकङ(जिफाह) को आयोजनामा आगामी नोभेम्बर १७ तारेखमा “जिफाह साँझ–२” हुने भएको छ । कार्यक्रमलाई भव्य बनाउनको लागि तयारीमा तीव्रता दिन थालिएको छ । हङकङको काउलुन स्थित याउ मा तेई कम्युनिटी हलमा हुन लागेको कार्यक्रममा गुरुङ फिल्मका स्थापित कलाकारको सहभागिता रहने महासचिव विश्वास गुरुङले कोटखबरलाई जानकारी दिए ।

कार्यक्रमको बारेमा जानकारी गराउन हालै हङकङमा जानकारी सभा गरिएको थियो । जस पश्चात् कार्यक्रमको रौनकता बढेको छ भने गुरुङफिल्मकर्मी उत्साहित बनेका छन् । ‘गुरुङ गीत, सङ्गीत र चलचित्रको माध्यमबाट गुरुङ समुदायको कला र संस्कृतिलाई विश्वभरि प्रबर्द्धन गरौँ’ भन्ने मूल उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष माया गुरुङले जानकारी दिइन् । साँझ ६ बजेबाट शुरु हुने कार्यक्रममा एक दर्जन भन्दा बढी चर्चित कलाकारहरूको प्रस्तुती रहने जनाइएको छ ।

उनीहरूले कार्यक्रममा गुरुङ समुदायको कलासंस्कृतिको प्रर्वद्धन हुने गरि गीत, नाटक र नृत्यसहितको प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा देखाउनेछन् । कार्यक्रम भव्य बनाउन अध्यक्ष माया गुरुङलाई संयोजक तोकिएको छ भने कार्यक्रमको मुख्य आकर्षण रहने सांस्कृतिक प्रस्तुति तर्फको संयोजकको जिम्मेवारी गमन घलेले पाएका छन् ।

कार्यक्रमका लागि नेपालबाट गुरुङ फिल्मका चर्चित कलाकारहरू आनन्द गुरुङ, मनोज गुरुङ, अञ्जु गुरुङ, अनुसा गुरुङ, अमेरिकाबाट प्रेम गुरुङ, एन्सर्ज गुरुङ, अष्ट्रेलियाबाट विश्वात्मा गुरुङ, गायिका उषा गुरुङ, कोरियोग्राफर साजन गुरुङ आउने गरि तयारी गरिएको बुझिएको छ। पछिल्लो समय हङकङमा नै कर्मथलो बनाई बसोबास गरिरहेका गुरुङ चलचित्रका चर्चित कलाकारहरू गमन घले, विश्वास गुरुङ, ओम गुरुङ, मुस्कान गुरुङ, सिर्जना गुरुङ, प्रिय गुरुङ, सिर्जना गुरुङ(२) र गायक मनोज गुरुङको सामूहिक प्रस्तुति समेत हेर्न पाइने अध्यक्ष माया गुरुङले जानकारी दिइन् ।

उनले भनिन्, ‘कार्यक्रम विशुद्ध हाम्रो लोप हुन लागेको भाषा, संस्कृति, भेषभुषाको जगेर्ना र विश्वमा हाम्रो ‘कल्चर’ को बारेमा प्रर्वद्धन गर्न सफल हुने विश्वास छ ।’

यसअघि सन् २०१६ मा पहिलो जिफान साँझ भएपछि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिडका कारण नियमित सञ्चालन हुन नसकेको कार्यक्रमलाई निरन्तरता दिन लागिएको संस्थाका महासचिव विश्वास गुरुङले खुलाए ।

कार्यक्रममा गुरुङ फिल्म एशोसियसन नेपालका पूर्व अध्यक्ष, गण्डकी प्रदेश सभा सदस्य एवं गण्डकी प्रदेश सरकारको पूर्व कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङ “श्याम” को प्रमुख अतिथिको रुपमा र गुरुङ फिल्म एशोसियसन नेपालका वर्तमान अध्यक्ष राज बहादुर गुरुङ “राजेश” बिशेष अतिथिको रुपमा उपस्थित हुने आयोजकले जनाएको छ । उनीहरूको उपस्थितिले कार्यक्रममा थप रौनकता थप्नेछ ।

संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक माया गुरुङको अध्यक्षतामा भएको जानकारी सभामा स्वागत उपाध्यक्ष ओम गुरुङ र सञ्चालन महासचिव विश्वास गुरुङले गरेका थिए । ८ वर्षपछि हुने यस कार्यक्रमले गुरुङ फिल्मको क्षेत्रमा नयाँ उर्जा थप्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0