पोखरा । जोजिजू म्युजिक सेन्टर रानीपौवाको आयोजनामा जोजिजू म्युजिकल जर्नी कार्यक्रम २०८१ सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको हलमा भएको कार्यक्रम मार्फत साङ्गीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै गायिका अजुदा थापा र सङ्गीतकर्मी विजय क्षेत्रीलाई सम्मान अर्पण गरियो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, आयोजक संस्थाका प्रबन्ध निर्देशक विनित जोजिजू, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, वरिष्ठ लोक दोहोरी गायिका हरिदेवी कोइराला, संस्थाका सञ्चालक सानू जोजिजू लगायतले सम्मान अर्पण गरे ।

कार्यक्रममा अजुदा थापा, रजनी हृदम राई, उत्प्रेरणा जोजिजू, मिलन गुरुङ, डबिन गुरुङ, उत्प्रेम जोजिजू, कृष गुरुङ, फिरोज बज्राचार्य लगायतले साङ्गीतिक प्रस्तुति मार्फत माहोल रमणीय बनाए । उनीहरूलाई किबोर्डमा राजेश विष्ट, तबलामा राजा मुखिया, प्याड ड्रममा विजय क्षेत्री, बेस गितारमा तेज केसी र लिड गितारमा सुनिल परियारले साथ दिए ।

आज भन्दा २१ वर्ष अगाडि स्थापना भएको सेन्टरले हरेक वर्ष घटस्थापनाको छेको पारेर म्युजिकल जर्नी कार्यक्रमको आयोजना गर्ने गर्दछ । ‘सङ्गीतको उत्थान हाम्रो दायित्व, कला र प्रतिभाको पहिचान हाम्रो अभियान’ भन्ने उद्देश्यले आयोजित यो कार्यक्रमको प्रवर्द्धकमा गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा महानगरपालिका कार्यालय रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0