पोखरा । जोजिजू म्युजिक सेन्टर रानीपौवाको आयोजनामा शनिबार जोजिजू म्युजिकल जर्नी कार्यक्रम हुने भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको म्युजिक सेन्टरका सञ्चालक विनित जोजिजूले जानकारी दिए ।
विविध साँगीतिक, सांस्कृतिक तथा श्रष्टा सम्मान कार्यक्रममा स्रष्टाहरूप्रति समर्पित भएर कलाकारले प्रस्तुति राख्नेछन् ।सोही कार्यक्रममा साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गायिका अजुदा थापा र संङ्गीतकर्मी विजय क्षेत्रीलाई सम्मान अर्पण गरिनेछ ।
आज भन्दा २१ वर्ष अगाडि स्थापना भएको सेन्टरले हरेक वर्ष घटस्थापनाको छेको पारेर म्युजिकल जर्नी कार्यक्रमको आयोजना गर्ने गर्दछ । ‘सङ्गीतको उत्थान हाम्रो दायित्व, कला र प्रतिभाको पहिचान हाम्रो अभियान’ भन्ने उद्देश्यले आयोजित यो कार्यक्रम दिउँसो ३ बजे पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा सुरु हुनेछ । कार्यक्रमको प्रवर्द्धकमा गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा महानगरपालिका कार्यालय रहेका छन् ।