पोखरा । अवैध रुपमा ल्याउँदै गरेको चाँदीका गरगहना सहित १ जना मानिस पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ती व्यक्ति सोमबार दिउँसो पक्राउ परेका हुन् ।
भारतीय नागरिकले अवैध रुपमा चाँदीका गरगहनाहरू ओसारपसार गरी रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३२ मजुवा स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्दा पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार देश भारत पूर्वी चम्पारण जिल्ला सुगौली थाना वडा नं. १० स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.९ नयाँबजार बस्ने वर्ष ३५ को चन्द्र भूषण प्रसादले पछाडि भिरेको झोलाभित्र निलो सेतो प्लाष्टिकमा पोका पारी लुकाई छिपाई ल्याएको अवस्थामा ५ किलो ६९० ग्राम सहित चाँदीका गरगहना फेला पारेको प्रहरीको भनाइ छ ।
सो सम्बन्धमा प्रमाण खुल्ने कुनै कागजात (बिल) समेत नभएको हुँदा निजलाई उक्त गरगहना सहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।
बरामद सामानमा चाँदी जस्तो देखिने सेतो धातुको बुट्टावाल पाउजु एक सय चालीस थान, झल्लार पाउजु एक सय बयानब्बे थान, सादा पाउजु एकसय पच्चीस थान, चन्द्रमा पाँच थान, साडी पिन एघार थान, पाउजुको लक हुक चार सय अन्ठानब्बे थान र १ थान मोबाइल फोन सेट रहेको कास्की प्रहरीले जनाएको छ।