पोखरा । चर्चित गायक तथा सङ्गीतकार रामभक्त जोजीजूको मर्मस्पर्शी गजल गीत ‘सिसा रहेछ’ सार्वजनिक भएको छ । गीतमा प्रेमी प्रेमिका बिचको उमेरको भिन्नताका कारण छुट्नुपर्दाको पीडा देखाइएको छ । सार्वजनिक गीतको स्वर तथा सङ्गीत रामभक्त जोजीजू को रहेको छ भने तेज श्रेष्ठ अन्जानले गीतको शब्द कोरेका हुन् । गीतमा सङ्गीत संयोजन सन्जिव पालको छ ।
सार्वजनिक गीतको भिडियोमा झलक थापा, नरेश केसी सुस्मिता बन्जरा, लगायतका कलाकारहरूको अभिनय हेर्न पाइन्छ । गीतको भिडियोमा राम प्रसाद बास्तोलाको कथा तथा निर्देशन, दिपेश केसीको छायाङ्कन र सन्तोष पराजुलीले सहनिर्देशन गरेका छन् । सार्वजनिक गीत र भिडियोले दर्शकको मन छुनेमा जोजीजू विश्वस्त छन् ।
गीतलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बरिष्ठ साहित्यकार सरुभक्तले पोखरामा आयोजित एक कार्यक्रमकाबीच विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरुभक्तले रामभक्त जोजिजू गायन क्षेत्रमा नेपालको नक्षत्र भएको भन्दै उनको २५ वर्ष देखिको निरन्तर मिहेनत र परिश्रमको खुलेर तारिफ गरे । पोखरा स्वयं प्रमाणित सङ्गीतको राजधानी भएको उनको भनाइ थियो ।
सार्वजनिक भिडियोको बारेमा चलचित्र निर्देशक घनश्याम लामिछानेले प्रशंसा गर्दै शुभकामना दिए । भिडियोको समीक्षा गर्दै चलचित्र निर्देशक लामिछानेले भिडियो अति नै उत्कृष्ट बनेको र गीतको भाव अनुसार भिडियोले न्याय गरेको बताए ।
कार्यक्रममा गीतकार तथा समाजसेवी उमेश सिकेले गायक रामभक्त जोजिजूको बारेमा र आफूले सँगै भोगेका विगतका कुराहरूलाई समेटेर विचार व्यक्त गरे । शुभकामना मन्तव्य राख्दै पत्रकार कमल कोइरालाले गायक रामभक्त जोजिजूले आफ्नो उचाइलाई निरन्तरता अगाडि बढाउँदै गएको र आगामी दिनमा अझै प्रगति र उन्नतिको लागी शुभकामना व्यक्त गरे ।
जे.ई.म्युजिक एकेडेमी फूलबारीका विद्यार्थीहरू संस्कार गौतमले सिसा रहेछ, भुपाली राग, प्रेमराज पौडेलले “उडेर जून” गीत, प्रज्ञान बरालले मायालाई ढाका पछ्यौरी, प्रसिद्धि भुर्तेलले सम्हालेर, निआ श्रेष्ठ, साईरा गुरुङले हेर न हेर कान्छा, आरोही थापाले उकाली ओराली हरुमा गीत प्रस्तुत गरे । जेई म्युजिकका कार्यकारी निर्देशक ईतु जोजिजूको धन्यवाद र जेई म्युजिकका सिईओ समेत रहेका वरिष्ठ गायक तथा संगीतकार रामभक्त जोजिजूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजित कार्यक्रमको सञ्चालन अनुज कुलुङले गरेका थिए । गीत जोजीजू इन्टरटेन्मेन्ट युट्युव च्यानल मार्फत हेर्न सकिन्छ ।
भिडियो