पोखरा। पोखरा महानगरपालिका १५ नयाँगाउँमा हुने विकास प्रिजेन्टेस\ सिक्स ए साइड एमेच्योर फुटबल प्रतियोगिताको तयारी तीब्र पारिएको छ । पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा असोजको १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी भइरहेको पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका परिकल्पनाकार विकास गुरुङले जानकारी दिए ।
उनका अनुसार नयाँ गाउँ युवा क्लबको विशेष सहयोगमा पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिने उनले बताए । गुरुङका अनुसार १ वटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन साथै गोल्डकपहरू खेलेका खेलाडीहरू सहभागि हुन नपाउने गुरुङले जानकारी दिए । ‘नवोदित खेलाडीलाई स्थान प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो । लोकल लेभलमा पनि राम्रा खेलाडीभाइहरू छन् । उनीहरूले स्थान पाएका छैनन्, गुरुङले भने, ‘त्यसैले त्यस्ता खेलाडीहरूलाई लक्षित गरेर प्रतियोगिता अर्गनाइज गरिएको हो ।’
उनले सो कार्यक्रमको उद्घाटनको अवसरमा पोखरा १५ मा क्रियाशील आमा समुहहरूको झाँकीसहितको र्याली प्रतियोगितासमेत आयोजना गरिने जानकारी दिए । ‘प्रतियोगितालाई भव्य बनाउका लागि हामीले उद्घाटन गर्नुअघि विभिन्न समूहको झाँकीसहितको र्याली प्रतियोगिता पनि राखेका छौ, उनले भने, ‘प्रथम हुने समूहलाई नगद रु ७ हजार र दोस्रो हुने समूहलाई नगद रु ५ हजारसहित प्रमाणपत्र प्रदान गर्नेछौँ । यसले स्थानीय स्तरको कला संस्कृतिको जगेर्ना गर्न सघाउ पुग्ने विश्वास लिएका छौं ।’
प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क रु ५ हजार निर्धारण गरिएको छ भने, असोज १३ गतेसम्म फोनबाटैपनि टिम दर्ता गर्न सकिने बताइएको छ । सो प्रतियोगिता सफल बनाउनका लागि संगम टोल विकास संस्था तथा नयाँगाउँ युवा क्लबको पूर्ण साथ रहेको विकास संस्थाका अध्यक्ष अदीप बरालले बताए । उनले युवाहरूको प्रतिभालाई उजागर गर्नका लागि सो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
यस्तै उपविजेता पुरस्कार राशि सौजन्य गरेको फ्रयाङ्कलिन एजुकेसन एकेडेमीका प्रबन्धक निर्देशक कमल खड्काले प्रतियोगिताले फुटबलको विकासमा टेवा पुर्याउने बताए । उनले आगामी दिनमा पनि सो प्रतियोगितालाई निरन्तरता दिनुपर्ने सुझाव दिदैं आफ्नोतर्फबाट सदैब सहयोग गर्न तयार रहेको बताएका थिए ।