पोखरा । च्याङ्ग्रा चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देही शुद्धोधन गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल पोखरा ७ मासबार बस्ने वर्ष ५० का मोहम्मद फकिर रहेका  छन् । उनलाई कास्की प्रहरीले पोखरा ४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।

 फकिर सहित ३ जना गत असोज १ गते मुस्ताङ वारागुरङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ वारागुरु बस्ने ताक्ला गुरुङको घरगोठमा च्याङ्ग्रा खरिद गर्न पुगेका थिए । गुरुङको १ सय ३ वटा च्याङ्‍ग्राहरू बयालीस लाखमा खरिद गर्न राजी भएका उनीहरूले पैसा नल्याएको र पोखरा गएपछि दिन्छौ भनी विश्वास दिलाए । उनीहरूको विश्वासमा परेका च्याङ्ग्रा धनी गुरुङ समेत उनीहरूसँगै पोखरामा आएका थिए ।

तर पछि उनीहरु गुरुङलाई होटलमा छोडेर च्याङ्ग्रा सहित फरार भएका थिए । त्यसपछि च्याङ्ग्रा धनी गुरुङ आफू ठगिएको थाहा पाए । त्यसपछि उनले आफू पोखराको ड्यामसाइड स्थित होटलमा सुतेको अवस्थामा उक्त च्याङ्ग्रा सहितको गाडी लिई तीन जना सम्पर्क विहीन भएको भन्ने जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीको आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले खोजतलास तथा अनुसन्धान गर्दै जाँदा फकिरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका फकिरलाई कास्की जिल्ला अदालतबाट ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा पहिलोपटक ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीको भनाई छ । ती च्याङ्‍ग्राहरू असोज २ गते पोखरा २५ घट्टेखोलाबाट अर्को सवारी साधनहरूमा लोड गरी बिक्री बितरण गरेको पक्राउ परेका फकिरले खुलाएको सूचना अधिकारी शर्माले जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0