पोखरा । गत शुक्रबारदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भैरहेको नाटक ‘जानकी’ ले दर्शकको साथ पाउँदै गएको छ । पद्माप्रेम थिएटरको प्रस्तुतिमा मञ्चन भइरहेको नाटकले दिनप्रतिदिन दर्शकको साथ बढाउदै गएको अध्यक्ष सावित्रा पाठक सबुले कोटखबरलाई जानकारी दिइन् ।

नाटक युनिटले गरेको मिहिनेत र नाटक हेरेका दर्शकको सकारात्मक प्रतिक्रियाका कारण रंगप्रेमीको ध्यान खिच्न सफल बनेको उनको भनाइ छ । शनिबारसम्म मञ्चन हुने नाटकको अब तीन सो बाँकी रहेको र ती सो मा दर्शकको उल्लेख्य सहभागिता रहने विश्वास गरेको उनले सुनाइन् ।  ‘अब शुक्रबार साँझ ५ बजे तथा शनिबार दिउँसो १ बजे र साँझ ५ बजे मञ्चन हुनेछ, सबैलाई नाटक हेरेर साथ दिनुहुन अनुरोध गर्दछु’ सबुले भनिन्।

गत वर्षको माघमा नाटक धनिरामको गोरु मञ्चन मार्फत पोखरेली रङ्गमञ्चमा उदाएको पद्माप्रेम थिएटरले दोस्रो प्रस्तुतीको रुपमा यो नाटकको मञ्चन गरेको हो । अध्यक्ष सबुले लेखेको नाटकको निर्देशन गोविन्द पराजुली र शीतला अधिकारीले गरेका छन् ।

नाटकमा सबु सहित गोविन्द पराजुली, विभु प्रसाद भुसाल, ज्योति हमाल, शीतला अधिकारी, बुद्धिसागर खनाल, सुमन कार्की, मुना गुरुङ, विवेक गुरुङ, अभिषेक भुसाल, प्रदिप गौतम प्रमोद र अलिसा थापाले अभिनय गरेका छन् ।

जय चापागाईंको सङ्गीत रहेको नाटक मञ्चनको लागि केही सहयोगी संस्थाको साथ पद्माप्रेम थिएटरले पाएको छ। नाटकले उठाएको विषयवस्तुलाई समेत दर्शकले रुचाएका छन् । पद्माप्रेम थिएटरको पहिलो वार्षिकोत्सवको अवसरमा यो नाटक मञ्चन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0