पोखरा । झण्डै ७५ लाखको लागतमा चौर अम्बोट झोलुङ्गे पुल सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका वडा नम्बर २५ मा निर्माण गरिएको झोलुङ्गे पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बुधबार उद्घाटन गरे ।
उक्त पुल निर्माणका लागि आस्था निर्माण सेवाले गत चैतमा ७४ लाख ९४ हजार ५ सय रुपैयाँ सम्झौता गरेको थियो । पुल सम्झौताको ३ महिना अघि गत असार १९ गते निर्माण सम्पन्न भएको थियो । पुलको लम्बाइ १९८ मिटर र चौडाइ एक मिटर छ।
पर्यटकीय र कृषिलाई आधारित मानेको चौर अम्बोट झोलुङ्गे पुल उद्घाटन गर्न पाउँदा निकै हर्षित भएको मन्त्री केसीले बताए । उनले सम्झौता अघि नै निर्माण सम्पन्न गर्ने निकाय लगायत सबैलाई धन्यवाद समेत दिए । जनताकाे आवश्यकतालाई ध्यान दिएर यस्ता विकास निर्माणका कार्यलाई तीव्रता दिइने उनले बताए ।
योजनाहरूको काम तीव्र गतिमा अगाडि बढाउन मन्त्रालय मातहतका कार्यालयलाई निर्देशन समेत आफुले दिइसकेको मन्त्री केसीले खुलाए । ‘भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशका मातहतमा रहेका सम्पूर्ण कार्यालयलाई सम्पूर्ण योजनाको काम तीव्र गतिमा गुणस्तर कायम गर्दै सुचारु गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘आफ्नो क्षेत्रमा परेका योजनाहरू समयमा नै तोकिएको गुणस्तरमा सम्पन्न गर्नको लागि खबरदारी गर्नुहोला ।’
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, पूर्वाधार विकास कार्यालय कास्कीका सीडीई सोभियत खड्का, कार्यवाहक वडाध्यक्ष धनाकुमारी तिमल्सिना पोखरेल तथा वडा सदस्य, क्लब, आमासमूह लगायतका प्रतिनिधि सहभागी थिए ।