पोखरा । पोखरा महानगरपालिकाका कृषक नरेन्द्रप्रसाद अधिकारी पोखरामा सबैभन्दा बढी क्षेत्रफलमा सयपत्री फूल खेती गर्ने कृषकका रूपमा सम्मानित भएका छन् ।
पोखरा रंगशालामा जारी पुष्प व्यापार मेलाअन्तर्गत आयोजित तेस्रो सयपत्री फूल मेलाको अवसरमा अधिकारीलाई सम्मानपत्रसहित नगद १० हजार रुपैयाँ प्रदान गरिएको हो । अधिकारीले करिब १० रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा सयपत्री फूल खेती गर्दै आएका छन् ।
त्यसैगरी, तीन रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गर्दै आएका कृषक सोवितबहादुर अधिकारी दोस्रो भएका छन् । त्यस्तै, नन्दकली घर्ती मगर तेस्रो घोषित भएकी छन् । दोस्रो हुने कृषकलाई नगद सात हजार र तेस्रो हुने कृषकलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
स्थानीय स्तरमा पुष्प खेतीलाई प्रोत्साहन गर्ने, कृषकको मेहनतको सम्मान गर्ने र फूल उत्पादनमा व्यावसायिक सम्भावना उजागर गर्ने उद्देश्यले उत्कृष्ट कृषकलाई सम्मान गरिएको हो ।
मेलामा सबैभन्दा बढी क्षेत्रफलमा फूल खेती गर्ने कृषकलाई सम्मान गर्नुका साथै माला बुन्ने प्रतियोगिता र उत्कृष्ट फूल स्टल प्रदर्शनीसमेत आयोजना गरिएको थियो ।
माला बुन्ने प्रतियोगिता तथा उत्कृष्ट फूल स्टल प्रदर्शनीतर्फ रमेशकुमार श्रेष्ठ उत्कृष्ट घोषित भएका छन् । उनको स्टलमा नयाँ जातको ‘टेनिस बल’ नामक सयपत्री फूलसमेत प्रदर्शनीमा राखिएको थियो । प्रतियोगितामा श्रीराम आचार्य द्धितीय र कर्मु जैसीले तृतीय स्थान हासिल गरे ।
माला उन्ने प्रतियोगितामा रमेशकुमार श्रेष्ठ प्रथम भए भने लक्ष्मी खत्री द्धितीय र दिया खड्का तृतीय बनिन् ।
पुष्प व्यापार मेलाले स्थानीय कृषकलाई आफ्नो उत्पादन प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पुष्प व्यवसायको प्रवर्द्धन, बजारीकरण र नयाँ जातका फूलप्रति उपभोक्ताको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।













