पोखरा । पोखरा महानगरपालिकाले तिहारलाई लक्षित गर्दै सयपत्री फूलको बिक्री वितरणका लागि तोकेका स्थानमा फुल विक्रि गर्ने क्रम सुरु भएको छ । महानगरभित्र १७ स्थान फूल विक्रिको लागि तोकेको महानगरले स्थानीय फूल उत्पादक किसानलाई प्रोत्साहन गर्ने तथा उपभोक्तालाई सहज रूपमा फूल उपलब्ध गराउने उद्देश्यले फूलको मूल्य निर्धारण समेत गरेको छ ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरपालिकाले सयपत्री फूलको मूल्य निर्धारण गर्नुका साथै बिक्रीका लागि निश्चित स्थानसमेत तोकेको बताइन्। तोकिएका स्थानबाट फूल खरिद तथा बिक्री गर्दा किसान, विक्रेता र उपभोक्ता सबैलाई सहज हुने उनको विश्वास छ।
वातावरण संरक्षणलाई ध्यानमा राख्दै महानगरपालिकाले बाहिरबाट आयात गरिएका फूल तथा प्लास्टिकका फूलको बिक्रीमा रोक लगाएको उनले जानकारी दिइन्। यसका लागि बजार अनुगमनलाई समेत निरन्तरता दिइएको उनको भनाइ छ।
आयातित तथा प्लास्टिकका फूलको बिक्री रोकिएपछि स्थानीय किसानले उत्पादन गरेका फूलको बजार सुनिश्चित गर्न र उपभोक्तालाई सहज बनाउन बिक्रीस्थल तथा मूल्य निर्धारण गरिएको उपप्रमुख गुरुङले बताइन्।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले तिहारलाई लक्षित गरी कात्तिक २२ गतेदेखि २५ गते भाइटीकाको दिनसम्म फूल बिक्री वितरणका लागि १७ स्थान निर्धारण गरिएको जानकारी दिए। महानगरपालिकाले तोकेका स्थानमा पुगेर फूल बिक्री गर्न किसानलाई अनुरोध गरिएको उनले बताए।
केही किसानले तोकिएका बिक्री केन्द्रबाट फूल बिक्री सुरु गरिसकेको कडरियाले जानकारी दिए। आइतबार पोखरा रङ्गशालामा आयोजित पुष्प मेलामा विभिन्न स्थानका किसानले आफूले उत्पादन गरेका फूल बिक्रीका लागि ल्याएका थिए।
महानगरपालिकाले निर्धारण गरेको मूल्यअनुसार फूल बिक्री भइरहेको र केही किसानले उपभोक्तालाई थप सहुलियतसमेत दिएको उनले बताए। यसले उपभोक्तालाई सहज हुनुका साथै स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुगेको उनको विश्वास छ। पोखरा महानगरपालिकाले सयपत्री फूलको मूल्य प्रतिकेजी ५०० रुपैयाँ र फूलमाला प्रतिमाला २०० रुपैयाँ कायम गरेको छ ।













