पोखरा । पोखरा महानगरपालिका–२८ का किसान सोवितबहादुर अधिकारीले तीन रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । व्यावसायिक रूपमा फूल खेती गर्दै आएका अधिकारीले यस वर्ष फूल खेतीमा करिब एक लाख रुपैयाँ लगानी गरेको बताएका छन् ।

उनले ‘कर्मा ५५५’ जातको सयपत्री फूल रोपेका हुन् । विगत तीन वर्षदेखि फूल खेती गर्दै आएका अधिकारीले यस वर्ष अघिल्ला वर्षको तुलनामा खेतीको क्षेत्रफलसमेत विस्तार गरेका छन् । फूलको बिक्री राम्रो भइरहेको र बजारमा मागसमेत बढेकाले उनी उत्साहित छन् ।

अघिल्ला वर्षको तुलनामा यस वर्ष फूलको माग बढेको बताउँदै अधिकारीले पोखरा महानगरपालिकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा किसानलाई फूल बिक्री गर्न सहज भएको बताए । यस वर्ष करिब तीन लाख रुपैयाँ बराबरको फूल बिक्री हुने उनको अनुमान छ ।

फूल खेतीसँगै अधिकारीले भैँसीपालन, तरबुजा खेती तथा जेठोबुढो धान उत्पादनसमेत गर्दै आएका छन् । यस वर्ष आफ्नो खेतमा ५० देखि ५५ मुरीसम्म जेठोबुढो धान उत्पादन हुने उनको अपेक्षा छ ।

कृषि पेसालाई विविधीकरण गर्दै आएका अधिकारीले फूल खेतीलाई आम्दानीको थप स्रोतका रूपमा अघि बढाएका छन् । स्थानीय उत्पादनको प्रवर्द्धन र बजारको सुनिश्चितता हुन सके किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सकिने उनको अनुभवले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0