पोखरा । पोखरामा जारी नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रदेशस्तरीय पुष्प मेला एवं तेस्रो सयपत्री फूल मेलामा दर्शक तथा ग्राहकको आकर्षण बढ्दै गएको छ। मेलामा चार दिनमै करिब ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल फ्यान कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्द्धनमा बुधबारदेखि पोखरा रंगशालामा सुरु भएको मेला अपेक्षाभन्दा सफल भइरहेको आयोजकको भनाइ छ।

आइतबार मेलामा पुगेकी पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरामा आयोजना गरिएको पुष्प मेलाले फूल उत्पादन गर्ने किसानको आयआर्जनमा समेत सहयोग पुर्‍याउने उल्लेख गरिन्। फूल खेती वातावरण संरक्षणसँग पनि जोडिएकाले यसको प्रवर्द्धनबाट किसान र समग्र समुदायलाई फाइदा पुग्ने उनको भनाइ छ।

पोखरा रङ्गशालामा आयोजित मेलामा सयपत्रीका अतिरिक्त अन्य प्रजातिका फूलसमेत बिक्रीका लागि राखिएकाले उपभोक्तालाई एउटै स्थानबाट विभिन्न प्रकारका फूल खरिद गर्न सहज भएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए। फूल उत्पादन गरेका किसानले महानगरपालिकाले तोकेका १७ वटै बिक्री केन्द्रमध्ये आफूलाई अनुकूल पर्ने जुनसुकै स्थानमा पुगेर आफ्नो उत्पादन बिक्री गर्न सक्ने उनले स्पष्ट पारे।

फ्यान कास्कीका अध्यक्ष रामप्रसाद सुवेदीले मेला पाँचौँ दिनसम्म आइपुग्दा ग्राहकको चहलपहल उल्लेख्य रूपमा बढेको बताए। मेलाको उद्घाटन दिनदेखि नै ग्राहकको उपस्थिति उत्साहजनक रहेको उल्लेख गर्दै उनले दिनप्रतिदिन आकर्षण थपिँदै गएको जानकारी दिए।

उनका अनुसार यसपटकको मेलामा पोखरा महानगरपालिकाभित्र छरिएर रहेका सयपत्री फूल उत्पादक तथा व्यवसायीलाई लक्षित गरी बिक्री केन्द्रसमेत सञ्चालन गरिएको छ। फूल खरिद गर्न चाहने उपभोक्ताले एउटै स्थानबाट सहज रूपमा फूल खरिद गर्न सक्ने भएकाले बिक्री केन्द्रबाट लाभ लिन उनले आग्रह गरे।

मेलामा विशेषगरी सयपत्री र गोदावरी फूलको बिक्री बढी भइरहेको अध्यक्ष सुवेदीले बताए। यसका अतिरिक्त सदाबहार फूल, इन्डोर तथा आउटडोर प्लान्ट, गमला र फूलका लागि आवश्यक मललगायत सामग्रीको बिक्रीसमेत राम्रो रहेको उनको भनाइ छ।

मेलामा सहभागी व्यवसायीले ल्याएका उत्पादनको राम्रो खपत भइरहेको उल्लेख गर्दै सुवेदीले चार दिनमा करिब ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको प्रारम्भिक अनुमान सुनाए। मेलाको समापनसम्म कारोबार एक करोड रुपैयाँभन्दा बढी पुग्ने आयोजकको अपेक्षा छ।

पुष्प व्यवसायको प्रवर्द्धन, स्थानीय फूल उत्पादकलाई बजार उपलब्ध गराउने तथा उपभोक्तालाई स्वदेशी फूलको प्रयोगप्रति आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको मेला आगामी कार्तिक २३ गतेसम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0