पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । १२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विज्ञानलाई समाजको अनिवार्य अङ्गको रुपमा विकास गर्न आवश्यक रहेको बताए । ‘विज्ञानलाई समाजको अनिवार्य अङ्गको रुपमा विकास गर्न आवश्यक छ । नेपालको हावापानी र माटो सुहाउँदो आविश्कार चाहियो ।’ उनले भने ।

मन्त्री थापाले विज्ञान र प्रविधिले ल्याएका कुराहरूलाई सही ठाउँमा प्रयोग गर्न सके मात्र लाभ मिल्ने उल्लेख गरे । आजको युग विज्ञान र प्रविधिको युग भएको बताउँदै मन्त्री थापाले कुनै पनि वस्तु वा विषयको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन नै विज्ञान भएको बताए । आजको समयमा विज्ञान र प्रविधिलाई देशको विकास र समृद्धिको आधारका रुपमा लिन सकिने भनाई उनको छ ।

प्रा.डा.भरत पहारीले विज्ञानले अरुको गाली गर्न नसिकाउने र जिज्ञासा बढाउने बताए । विषयको विशिष्टताको ज्ञान हुन आवश्यक रहेको भनाई उनको छ । प्रा.डा. नवराज देवकोटाले साइन्स एण्ड टेक्नोलोजी उत्पादन सगँ जोडिनुपर्ने बताए ।
डा.ढाकाराम भण्डारीले रिसर्चमा बहुवर्षीय रुपमा काम गर्न आवश्यक रहेको बताए । सस्तो लोकप्रियताले विज्ञानमा फड्को मार्न नसकिने भनाई उनको छ ।

डा.पुनम गौचनले रिसर्चमा महिलाहरूको उपस्थिति कम भएको बताइन् । पारिवारिक कारणले गर्दा यस्तो हुन गएको भनाई उनको छ । विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि भन्ने नारा सहित मनाइएको विज्ञान दिवसको समय पारेर प्यानल डिस्कसन गरिएको थियो । जसको सहजीकरण डा. कपिल अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0