पोखरा । प्राय: कन्सर्टहरूमा गीत सकिएपछि ताली बज्छ, संगीत रोकिएपछि भीड आ–आफ्नो बाटो लाग्छ । तर कहिलेकाहीँ संगीतले कार्यक्रमको समयभन्दा धेरै लामो प्रभाव छाड्छ । मानिसलाई आफ्ना पुराना दिन सम्झाउँछ, पुस्तालाई जोड्छ र आवश्यक पर्दा सहयोगका लागि हातहरू एक ठाउँमा ल्याउँछ । हो, नेपाली पप संगीतको चर्चित नाम ‘कन्दरा ब्यान्ड’को पछिल्लो उत्तर अमेरिका यात्रा यस्तै एउटा कथा बनेको छ ।

दुई महिनासम्म क्यानडा र अमेरिकाका विभिन्न शहरमा ‘हृदम अफ चेञ्ज’ सांगीतिक कार्यक्रम गर्दै करिब ४६ हजार माइल यात्रा गरेको कन्दरा यसपटक गीत सुनाएर मात्र फर्किएको छैन । नेपाली डायस्पोरासँग संगीतको सम्बन्ध बलियो बनाउने यात्राले विपद्का बेला संगीतलाई सामाजिक सेवाको माध्यम बनाउन सकिने उदाहरणसमेत दिएको छ ।

कन्दराका मुख्य भोकलिष्ट विवेक श्रेष्ठका अनुसार यात्राको मूल उद्देश्य नेपाली संगीतलाई नेपाली डायस्पोरासँग जोड्नु थियो । तर यात्रा अघि बढ्दै जाँदा यसले अर्को अर्थ पनि पायो । ‘संगीतले समुदायलाई जोड्न सक्छ र समुदाय एकजुट हुँदा संकटमा ठूलो सहयोग जुटाउन सकिन्छ ।’

एउटा कार्यक्रम, एउटा निर्णय र बदलिएको उद्देश्य

उत्तर अमेरिका यात्राका क्रममा एटलान्टामा कार्यक्रम हुँदै थियो । कार्यक्रमको तयारी चलिरहेका बेला नेपालमा प्राकृतिक विपत्ति आयो । अब के गर्ने?

कार्यक्रम स्थगित गर्ने कि निरन्तरता दिने भन्ने प्रश्न कन्दरासामु थियो । अन्ततः उनीहरूले कार्यक्रमलाई शोकमा सीमित नराखी सहयोगमा बदल्ने निर्णय गरे । ‘शोकलाई शक्तिमा बदल्ने र संगीतलाई सेवामा समर्पित गर्ने’ भावनाका साथ कार्यक्रम भयो । त्यसबाट मात्रै करिब २१ लाख रुपैयाँ राहतका लागि संकलन भयो ।

श्रेष्ठका लागि त्यो रकमभन्दा महत्वपूर्ण थियो । संकटमा समुदायको प्रतिक्रिया । ‘आपत्कालमा सानो–सानो रकम जोडिँदा ठूलो सहयोग हुने रहेछ,’ उनले भने, ‘कन्दरा त माध्यम मात्रै हो । आयोजक, उनीहरूका परिवार र हामीलाई माया गर्ने दर्शकको स्वतःस्फूर्त सहयोगले यो सम्भव भएको हो ।’ त्यसपछि सहयोगको त्यो क्रम रोकिएन ।

मेरिल्याण्डमा छन्त्याल परिवारको आग्रहमा आयोजित कार्यक्रममा ६ हजार अमेरिकी डलर संकलन भयो । उक्त रकम परिवारले नै राहत कोषमा सहयोग गरेको श्रेष्ठले बताए । नर्थ क्यारोलिनामा भने कन्दराको कार्यक्रम आयोजना गर्न समुदायले नै आग्रह गर्‍यो । समय निकै कम थियो । करिब आठ दिनमै कार्यक्रमको तयारी गरियो । त्यहाँबाट ११ हजार ६७० अमेरिकी डलर संकलन भयो ।

यी विभिन्न कार्यक्रम र पहलबाट संकलित रकम जोड्दा करिब ४८ लाख रुपैयाँभन्दा बढी रकम राहतका लागि जम्मा गरिएको श्रेष्ठले बताए ।

गीतमा भेटियो पुस्ताबीचको सम्बन्ध

कन्दराको यात्राको अर्को महत्वपूर्ण पाटो थियो । प्रवासमा नेपाली गीतको प्रभाव । नेपालमा स्कुल–कलेज पढ्दा सुनेका गीतहरू वर्षौंपछि विदेशमा आफ्नै परिवारसँग बसेर सुन्न पाउनु । एउटै गीतमा बाबुआमा, छोराछोरी र जीवनसाथी एकैपटक रमाउनु । श्रेष्ठले यात्राका क्रममा यस्ता दृश्यलाई नजिकबाट देखे ।

‘कलेज पढ्दा, स्कुल पढ्दा सुनेको गीत अहिले आफ्नो पार्टनर र बच्चाहरूसँग सुन्न पाउँदाको खुसी नजिकबाट देख्न र महसुस गर्न पाइयो,’ उनले भने, ‘गीतले फरक पुस्ताका मानिसलाई एउटै ठाउँमा ल्याउने रहेछ ।’

त्यसैले कन्दराका लागि यो यात्रा केवल कन्सर्ट टुर थिएन । यो नेपाली संगीतको पुस्तान्तरण र डायस्पोरासँगको भावनात्मक सम्बन्धको यात्रा पनि थियो ।

नेपालबाट हजारौँ किलोमिटर टाढा रहेका नेपालीका लागि गीत केवल मनोरञ्जन थिएन । त्यो आफ्नो देश, भाषा, सम्झना र पहिचानसँग जोडिने एउटा माध्यम थियो ।

‘पहिले आफू फेरिनुपर्छ’

कन्दराको उत्तर अमेरिका यात्रा संगीतसँगै परिवर्तनको सन्देश बोकेर पनि अघि बढेको थियो । कन्दराका सदस्य सुनिल थापाका अनुसार ‘देशको मुहार फेर्ने हो भने पहिले आफैं फेरिनुपर्छ’ भन्ने भावनालाई यात्राको मुख्य विषय बनाइएको थियो ।
अरूलाई दोष दिने, गुनासो गर्ने र परिवर्तनका लागि अरूको प्रतीक्षा गर्नेभन्दा पहिले आफैंले एउटा कदम चाल्नुपर्ने उनको भनाइ छ ।
‘निराश भएर अरूबाट आशा गरेर बस्ने होइन,’ थापाले भने, ‘मैले सुरु गरेर देखाउनुपर्छ अनि देश बनाउने हो भन्ने भावनालाई हामीले गीत र यात्रामार्फत प्रस्तुत गरेका छौँ ।’

यही सोचलाई कन्दराले अर्को शब्दमा प्रस्तुत गरेको छ । ‘चेन्ज इन माइसेल्फ, चेन्ज इन माइन्डसेट, चेन्ज इन म्युजिक ।’ अर्थात् परिवर्तनको सुरुवात आफैंबाट, सोचबाट र त्यसपछि संगीतबाट ।

 परिवर्तनको खोजी

कन्दराले नेपाली संगीतमा आफ्नो यात्रा सुरु गरेको ३५ वर्ष पूरा भइसकेको छ । समय बदलिएको छ । संगीत सुन्ने माध्यम फेरिएका छन् । पुस्ता फेरिएको छ । तर कन्दराले आफ्नो यात्रालाई समयसँगै नयाँ ढंगले जोड्ने प्रयास गरिरहेको छ । उत्तर अमेरिका यात्रामा नौवटा कार्यक्रम गर्नु यसको एउटा उदाहरण हो ।

कहिले पुराना गीतमा दर्शक झुमे, कहिले नयाँ पुस्ताले त्यही गीतमा आफ्नै कथा भेट्यो । कलाकार र दर्शकबीचको दूरी मञ्चमा मात्र सीमित रहेन । प्रवासमा नेपाली समुदायसँगको सम्बन्ध अझ नजिकिएको कन्दराको अनुभव छ । यही सम्बन्धले विपद्का बेला सहयोगको रूप लियो ।

हुनपनि पोखराबाट यात्रा सुरु गरेको नेपाली सांगीतिक समूह कन्दराले लामो समयदेखि नेपाली संगीतमा आफ्नो विशिष्ट पहिचान बनाउँदै आएको छ। कन्दराका गीतहरूले घर, माटो, प्रेम, यात्रा, सम्झना, प्रकृति र नेपाली पहिचानका विषयलाई संगीतमार्फत प्रस्तुत गर्दै आएका छन्।

संगीतको शक्ति कति ठूलो हुन्छ?

कन्दराको यो यात्राले एउटा सरल प्रश्नको उत्तर खोजेको छ—संगीतले के गर्न सक्छरु मनोरञ्जन गर्न सक्छ । सम्झना जगाउन सक्छ । पुस्तालाई जोड्न सक्छ । देशबाट टाढा रहेका नेपालीलाई आफ्नोपनको अनुभूति गराउन सक्छ । र, आवश्यक पर्दा समाजलाई सहयोगका लागि एक ठाउँमा उभ्याउन पनि सक्छ । कन्दराको यात्रामा संकलित रकम त्यसैको एउटा उदाहरण हो ।

श्रेष्ठका अनुसार यस अभियानमा कन्दरा आफैंभन्दा पनि समुदायको भूमिका ठूलो थियो । कलाकारले मञ्च उपलब्ध गराए, आयोजक र परिवारले साथ दिए, दर्शकले सहयोग गरे । अन्ततः संगीत एउटा माध्यम बन्यो र समुदायले त्यसलाई सेवामा परिणत गर्‍यो ।

पोखरा फर्कँदा अर्को खुसी
दुई महिनाको लामो यात्रा सकेर नेपाल फर्किँदा कन्दराका लागि अर्को विशेष अनुभव पनि थपियो । फ्लाई दुबईको पहिलो उडानमार्फत पोखरा फर्कने अवसर । पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुनु पर्यटन र पोखराको भविष्यका लागि महत्वपूर्ण अवसर भएको श्रेष्ठले बताए । यस्तो सेवा निरन्तर र दिगो बनाउन सबै पक्षले पहल गर्नुपर्ने उनको भनाइ छ ।

कन्दराको यात्रा एउटा सांगीतिक भ्रमणबाट सुरु भयो । तर फर्किँदा त्यसले एउटा सन्देश बोकेको छ । संगीत केवल सुन्ने कुरा होइन, कहिलेकाहीँ संगीतले मानिसलाई एक ठाउँमा उभ्याउँछ । र मानिसहरू एक ठाउँमा उभिए भने संकटमा सहयोगको हात पनि लामो हुन्छ । सायद यही कारण कन्दराको यो यात्रा गीतभन्दा परको यात्रा बनेको छ । संगीतबाट समुदायसम्म, र समुदायबाट सेवासम्म ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0