पोखरा । सहारा क्लब पोखराले आयोजना गरेको २५औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट तीन लाख २१ हजार ८३९ रुपैयाँ बचत भएको छ ।
क्लबले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्दै प्रतियोगिता संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णकुमार गुरुङले प्रतियोगिताबाट एक करोड ३३ लाख २३ हजार ४८५ रुपैयाँ ३७ पैसा आम्दानी भएको जानकारी दिए । उनका अनुसार प्रतियोगिता सञ्चालनमा एक करोड ३० लाख एक हजार ६४६ रुपैयाँ खर्च भएको थियो ।
क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार प्रतियोगितामा टिकट बिक्रीबाट करिब आठ लाख रुपैयाँ आम्दानी भएको थियो । यस्तै, प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिबाट ३० लाख रुपैयाँ प्राप्त भएको उनले बताए । ंंअध्यक्ष थापाले विगतमा टिकट बिक्रीबाट उल्लेख्य आम्दानी हुने गरेको भए पनि पछिल्लो समय दर्शकको संख्या घट्दा टिकटबाट हुने आम्दानीसमेत घटेको बताए । यसपटक क्लबको रजत वर्षसमेत परेकाले केही अतिरिक्त खर्च बढेको उनको भनाइ थियो ।
पोखराको खेलकुद विकास, फुटबल प्रतिभाको पहिचान तथा ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटनको सहरका रूपमा स्थापित गरौँ’ भन्ने मूल नाराका साथ प्रतियोगिता २०८२ फागुनमा सञ्चालन भएको थियो ।
कार्यक्रममा हिमश्री फुड्सका प्रबन्ध निर्देशक प्रकाश केसीले विभिन्न चुनौतीका बीच सहारा क्लबले प्रतियोगिता सम्पन्न गरेको भन्दै क्लबले गर्दै आएका गतिविधिको प्रशंसा गरे ।
प्रतियोगिताबाट बचत भएको रकम पोखरा महानगरपालिका–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित कठिन परिस्थितिका तथा विपन्न वर्गका बालकहरूको निःशुल्क आवास, शिक्षा, स्वास्थ्य र फुटबल प्रशिक्षणमा खर्च गरिने क्लबले जनाएको छ ।
पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सहारा क्लबलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पत्रकारहरू एकराज गिरी, सुरज श्रेष्ठ, राजाराम पौडेल, सुमन गुरुङ, राम गुरुङ, गोविन्द थापा सिञ्जालीलगायतले प्रतियोगिताको आगामी संस्करण, आर्थिक व्यवस्थापन तथा क्लबका गतिविधिबारे सुझाव र जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन क्लबका महासचिव गंगाराम पौडेलले गरेका थिए ।
क्लबले २६औँ आहा रारा पोखरा गोल्डकप आगामी माघमा आयोजना गर्ने लक्ष्यसहित तयारी सुरु गरेको अध्यक्ष थापाले जानकारी दिए । तर, अखिल नेपाल फुटबल संघ एन्फाको रोडम्याप सार्वजनिक नभएकाले प्रतियोगिताको मिति तथा तयारीलाई अन्तिम रूप दिन केही अन्योल रहेको उनले बताए ।
















