गैँडाकोट । ‘ल ! गृह जिल्ला प्रवेश गरियो है’ चितवनस्थित नारायणी नदी माथिको पुल तरेर नवलपुरको गैँडाकोट टेकिएपछि पद्मा सुनिइन् । ‘पहिले र अहिलेमा केही फरक महशुस गर्नुभयो कि ?’, उनीसँगै गाडीमा सवार एक ब्यक्तिले उत्सुकता तेर्स्याए । ‘त्यस्तो फरक महशुस त केही भएको छैन । पहिले आवाज उठाउने, प्रश्न गर्ने ठाउँमा थिएँ, अहिले कार्यान्वयन र जवाफ दिने ठाउँमा पुगेको छु’ ओजपूर्ण जवाफ दिइन् पद्माले । पद्मा अर्थात् पद्मा जि.सी श्रेष्ठ । जो अहिले गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भएकी छिन् । उनको गृह जिल्ला हो नवलपुर । नवलपुरको निर्वाचन क्षेत्र नं २(क)का जनताले गण्डकी प्रदेश सभा सदस्यका लागि पद्मालाई निर्वाचित गराएका थिए ।

मन्त्री भएपछि पहिलोपटक शनिबार उनै जनतामाझ आइपुग्नै लाग्दा गैँडाकोट टेक्नासाथ उनले बोलेको पहिलो वाक्य त्यही थियो, ‘ल ! गृह जिल्ला प्रवेश गरियो है’। नेकपा(एमाले)बाट निर्वाचित सांसद मन्त्री भएर पहिलोपटक जिल्ला आउँदै गर्दा पार्टी तथा अन्य शुभेच्छुकको स्वागत कार्यक्रम स्वभाविक नै हो । नेकपा(एमाले) गैँडाकोट नगर कमिटी लगायत अन्य सङ्घ सङ्गठनमा आवद्धहरू भृकुटी चोकस्थित कमिटीको कार्यालयमा मन्त्री श्रेष्ठको स्वागतार्थ तम्तयार थिए । शुभेच्छुकहरूको स्वागतलाई मन्त्री श्रेष्ठले सभा सम्मेलनकै जस्तो औपचारिकता भन्दा पनि अनौपचारिक भेटघाट बनाउन प्रयत्न गरिरहेकी छिन् ।

गैँडाकोटका शुभेच्छुकमाझ मन्त्री श्रेष्ठले भनिन्, ‘यहाँहरूको साथ सहयोग हिजो सांसद नहुँदा पनि थियो, सांसद हुँदा पनि रहिरह्यो र अब पनि रहिरहनेछ । मन्त्री भएपछिको यो मेरो पहिलो जिल्ला भ्रमण हो । यसलाई मैले शुभकामना लिने भन्दा पनि सुझाव लिने भ्रमणको रुपमा लिएकी छु ।’ समृद्ध नेपालको आधार कृषि नै भएको उल्लेख गर्दै उनले कृषिलाई आधुनिकीकारण गर्दै अघि बढ्नुको विकल्प नरहेको बताइन् । उनले भनिन्, ‘हामीले जुन यो समृद्ध नेपालको परिकल्पना गरिरहेका छौँ, यसको मुख्य आधार भनेकै कृषि हो । हाम्रो मुलुकको अर्थतन्त्रलाई दिगो रुपमा बलियो बनाइरहन आजको आवश्यकता भनेकै कृषि हो, उत्पादन हो ।’

कमिटीको कार्यक्रमपछि अर्को पूर्वनिर्धारित कार्यक्रममा मन्त्री श्रेष्ठले कृषिमा सहभागिताका कुरा दोहोर्‍याइन् । ‘हामीले कृषकका समस्यालाई छिटो पहिचान गरि कसरी तत्कालै समाधान गर्ने भन्नेतर्फ छलफल गरिरहेका छौँ । तत्कालै गर्न सकिने र समय लाग्ने योजनाहरुबारे पनि अध्ययन हुँदैछ । अब कृषि क्रान्तिका लागि एकजुट हुनैपर्छ, सबै हातेमालो गरेर अघि बढ्नैपर्छ’ शनिबार नै नेकपा (एमाले) देवचुली नगर कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले भनिन् ।

यसअघि मन्त्री श्रेष्ठले नेवाः देय दवूको ३० औं स्थापना दिवसको अवसरमा नेवाः देय दवू गैँडाकोट नगर कमिटीको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखराको सहयोगमा आयोजित १ महिने निःशुल्क नेपाल भाषा तालिमको उद्घाटन गरिन् । उद्घाटनका अवसरमा बोल्दै उनले पछिल्ला पुस्तामाझ सांस्कृतिक चेतका लागि अरुची बढ्दै गएको, कम्तिमा थाहा हुनै पर्ने परम्परागत जानकारी र भाषाबारे नै ज्ञान नहुने क्रम बढ्दै गएकाले यस प्रकारका कार्यक्रमहरुको संख्या बढ्नुपर्ने बताइन् । कार्यक्रम व्यवहारिक र उपलब्धीमुलक हुनुपर्नेमा उनले जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0