पोखरा । संसदीय पत्रकार मञ्च गण्डकीले युवा लक्षित ‘संसदीय पहुँच कार्यक्रम’ अन्तर्गत शुक्रबार ‘नेपालमा सङ्घीयता : अवसर र चुनौती’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ। कार्यक्रम पोखरा–४ स्थित पश्चिमाञ्चल माध्यमिक विद्यालयमा सम्पन्न भएको हो। कार्यक्रमका संयोजक तथा संसदीय पत्रकार मञ्चका पूर्वअध्यक्ष भरत कोइरालाले संसद् र सरकारका गतिविधिको समाचार सम्प्रेषणसँगै संघीय शासन व्यवस्थाबारे जनचेतना अभिवृद्धि गर्नु पनि मञ्चको प्रमुख उद्देश्य रहेको बताए ।
उनले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को संसद्सँग परियोजनाको सहयोगमा विद्यालय तथा कलेज केन्द्रित ‘युवा लक्षित संसदीय पहुँच कार्यक्रम’ सञ्चालन भइरहेको जानकारी दिए। उनका अनुसार केही दिनअघि जनप्रिय बहुमुखी क्याम्पसमा विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो भने त्यसैको निरन्तरतास्वरूप पश्चिमाञ्चल माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो।
कोइरालाले विद्यार्थीलाई नेपालमा लागू भएको सङ्घीय शासन प्रणाली, सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको भूमिका तथा कार्यप्रणालीबारे जानकारी गराउँदै संसदीय गतिविधिसँग परिचित गराउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए। उनले यस वर्ष संसदीय पहुँच कार्यक्रमअन्तर्गत नमुना संसद् (मक पार्लियामेन्ट) लगायतका थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि जानकारी दिए।
उनले यस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको उल्लेख गर्दै बालबालिका तथा युवामा राजनीति र शासन प्रणालीप्रति अपेक्षाभन्दा बढी चासो देखिएको बताए। कोइरालाका अनुसार आगामी दिनमा गण्डकी प्रदेशका सामाजिक अध्ययन विषय अध्यापन गराउने शिक्षकहरूका लागि सङ्घीयतासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ। साथै प्रदेश सभा सदस्य तथा विषयगत समितिका सभापतिको सहभागितामा गण्डकीका तीन जिल्लामा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ। यद्यपि सार्वजनिक सुनुवाइको विषय भने अझै तय हुन बाँकी रहेको उनले बताए।
प्रतिस्पर्धामा सुजना पौडेल प्रथम भइन् । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उत्कृष्ट स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा कुबेर पाण्डे दोस्रो र प्रशंसा शर्मा तेस्रो भए । अनिल यादवले सान्त्वना स्थान प्राप्त गरे । सहभागी कक्षा ११ र १२ का विद्यार्थीले सङ्घीयताले नागरिकलाई अधिकार सम्पन्न बनाएको बताए । उनीहरूले सिंहदरबारको अधिकार गाउँसम्म पुग्नु सङ्घीयताको सुन्दर पक्ष भएको उल्लेख गरे ।
पश्चिमाञ्चल माविका प्राचार्य सरोज कोइरालाले सामाजिक अध्ययन र व्यावहारिक सीपका लागि यस्ता बहस प्रभावकारी हुने बताए ।
विजेता विद्यार्थीलाई कोइरालाद्वयले प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे । प्रतियोगितामा नेहा थापा, उपासना बराल, करुणा जमकट्टेल, करुणा ओझा, अनुप विक र स्वस्तिक परियारले पनि प्रतिस्पर्धा गरेका थिए । निर्णायकको भूमिकामा शिक्षकद्वय आत्माराम अधिकारी र किरण अधिकारी थिए । कक्षा ११ मा कानुन अध्ययनरत भूमिका राना र किस्मत विशवकर्माले सञ्चालन गरेको कार्यक्रममा हायुन श्रेष्ठले समय व्यवस्थापनको काम गरिन् । ६० जनाभन्दा बढी विद्यार्थीको उपस्थिति रहेको सो कार्यक्रममा सङ्घीयता र संसदीय प्रणालीबारे उत्साहजनक बहस भएको थियो ।
संसदीय पत्रकार मञ्च गण्डकीले सञ्चालन गरिरहेको संसदीय पहुँच कार्यक्रमले विद्यार्थी र युवालाई लोकतान्त्रिक अभ्यास, सङ्घीय शासन व्यवस्था तथा संसदीय प्रक्रियाबारे व्यावहारिक ज्ञान दिलाउँदै नागरिक सचेतना अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरेको जनाएको छ ।
















