लायन्स क्लबको १ करोड ३२ लाख सहयाेगमा शितलादेवी माविमा चमेना गृह निर्माण

पोखरा । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालले पोखरा १२ को शितलादेवी सामुदायिक माध्यामिक विद्यालयमा निर्माण गरेको चमेना गृह विद्यालयलाई हस्तान्तरण गरिएको छ । फर्निचर सहितको चमेनागृह लायन्स इन्टरनेशनलका द्वितीय उपाध्यक्ष मार्क एस ल्योनको उपस्थितिमा मङ्गलबार उद्‌घाटन हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै द्वितीय उपाध्यक्ष मार्कले विद्यालयको आवश्यकता महशुस गरेर चमेनागृहको निर्माण गर्दा स्थानीय स्तरमा राम्रो सन्देश गएको बताए । यो चमेनागृह खानेकुरा खाने ठाउँमात्र नभएर एक अर्कामा घुलमिल हुने स्थानको रुपमा समेत विकास हुने र यस्तो ठाउँ विद्यार्थीको लागि आवश्यक पर्ने उनको भनाइ थियो। लायन्स इन्टरनेसनल फाउण्डेसनले यस्तै सामाजिक कार्यमा सहयोग गर्ने गरेको बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल सरकारले साना नानीबाबूको लागि छुट्याएको १० रुपैयाँ थपेर २५ रुपैयाँ बनाएको भएपनि त्यो पनि पर्याप्त नभएको बताए । निर्माण भएको चमेना गृहले भएको सामाग्री र श्रोतलाई व्यवस्थित गर्ने विश्वास उनले गरे । यसको सही सदुपयोग गर्न आग्रह गर्दै विद्यालय व्यवस्थापन समितिलाई गर्ने सहयोग महानगरपालिकाले गर्ने प्रतिवद्धता जनाए । राम्रो नतिजा ल्याउन विद्यालय सफल भएको भन्दै प्रमुख आचार्यले व्यवस्थापन समिति र शिक्षक तथा विद्यार्थीलाई धन्यवाद दिए । लायन्स क्लब इन्टरनेशनलले गरेको सहयोगप्रति समेत उनले आभार प्रकट गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर कार्कीले स्थानीय स्तरबाट व्यस्थित चमेनागृह निर्माण गर्ने अवस्थामा नभएको राम बसेल र सूर्य बरालको पहलमा लायन्स क्लबबाट रकम उपलब्ध गराएर भवन निर्माण, फर्निचर र किचन बनेको बताए । उनले लायन्स क्लबले विश्वभर गर्ने गरेका यस्ता कार्यक्रमको तारिफ समेत गरे । समुदायकै पहलमा विद्यालयलाई अगाडि बढाउदा जिल्ला, प्रदेश र केन्द्रबाट उत्कृष्ट विद्यालयको रुपमा सम्मानित हुन र पुरस्कार हात पार्न सफल भएको उनले स्मरण गरे । विद्यालयको नतिजा राम्रो आउनुमा व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका अलावा विद्यालयको एकेडेमिक प्लानिङ कमिटीको मुख्य भूमिका रहेको खुलाए ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका २०२२/२०२३ का गभर्नर राम बसेलको विशेष पहलमा यो चमेनागृह निर्माण गरिएको हो । कुल १ करोड ७० लाखको लागतमा निर्माण भए चमेनागृहको निर्माणमा लायन्स इन्टरनेसनल फाउण्डेसनबाट एक करोड ३२ लाख तथा बाँकी स्कुलको व्यवस्थापन तयार भएको हो । आफूले पढेको विद्यालय केही योगदान गर्नुपर्छ भन्ने सोचेर विद्यालय व्यवस्थापनसँग सल्लाहमा चमेनागृहको आवश्यकता पुरा गर्नको लागि लायन्स इन्टरनेशनलमा प्रोजेक्ट पठाएको बताए । डेढ वर्षको समयावधिमा क्यान्टिन निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गर्न पाएकोमा उनले खुशी व्यक्त्त गरे । चमेना गृह निर्माणबाट त्यहाँ अध्ययन गर्ने विद्यार्थीलाई सहजता हुने उनको विश्वास छ ।

विद्यालयका प्राचार्य बाबुराम अधिकारीले विद्यालयलाई अगाडि बढाउन यहाँको समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनीहरूको आर्थिक, भौतिक, नैतिक र शैक्षिक सहयोगबाटनै विद्यालय आजको अवस्थामा आइपुगेको उनको भनाइ छ । चमेनागृहको निर्माणले विद्यालयमा अध्ययनरत १ हजार ३ सय विद्यार्थी, उनीहरूका अभिभावक, ७४ जना शिक्षक लगायतलाई सहजता हुने खुलाए ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालका गभर्नर विनोद ढुंगानाको अध्यक्षतामा चमेनागृह हस्तान्तरण कार्यक्रम भएको थियो । कार्य्रकममा लायन्स इन्टरनेसनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी लगायतले बोलेका थिए ।