पोखरा । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेले सञ्चालन गर्न लागेको ‘पार्टी जागरण अभियान’ अन्तर्गत गण्डकी प्रदेशको इञ्चार्जको जिम्मेवारी सचिव खगराज अधिकारीलाई दिइएको छ ।
पार्टीको हालै सम्पन्न सचिवालय बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन अपानी जारी गर्दै केन्द्रीय सदस्यहरूको कार्यविभाजन सार्वजनिक गरेका हुन्।
एमालेले स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राख्दै पालिका केन्द्रित संगठन सुदृढीकरण, पार्टी जागरण तथा जनसम्पर्क विस्तार अभियानलाई तीव्र बनाउने उद्देश्यसहित नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको हो । गण्डकी प्रदेशमा संगठन विस्तार, पार्टी संरचना सुदृढीकरण तथा स्थानीय तहसम्म पार्टी गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी अब अधिकारीको नेतृत्वमा अघि बढ्ने अपेक्षा गरिएको छ ।
कार्यविभाजनअनुसार गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्ला, पालिका तथा वडास्तरसम्म केन्द्रबाट नेताहरू खटाइएको छ । कास्की जिल्लाको इञ्चार्जमा जगत विश्वकर्मा तोकिएका छन् भने पोखरा महानगरपालिका तथा अन्य पालिकामा समेत केन्द्रबाट नेताहरूलाई जिम्मेवारी दिइएको छ ।
एमालेले यस अभियानमार्फत स्थानीय तह निर्वाचनको तयारी, संगठन विस्तार तथा कार्यकर्ता परिचालनलाई थप व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ । गण्डकी प्रदेशमा प्रभावशाली नेताका रूपमा चिनिएका गण्डकीका पूर्व मुख्यमन्त्री समेत रहेका अधिकारीलाई इञ्चार्जको जिम्मेवारी दिएपछि प्रदेशस्तरीय राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।
















