पोखरा । सावित्री आचार्यको दोस्रो गीति कविता संग्रह ‘देश परिवेश’ शनिबार पोखरामा लोकार्पण गरिएको छ । अलिमियाँ वाङ्मय प्रतिष्ठान र दीपशिखा साहित्य सङ्गमको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो ।

कार्यक्रममा दीपशिखा साहित्य सङ्गमका संस्थापक अध्यक्ष रामजी प्रसाद आचार्यले स्रष्टा परिचय प्रस्तुत गर्दै कवि सावित्री आचार्यको संघर्षपूर्ण जीवनयात्रा र साहित्यिक योगदानबारे जानकारी गराएका थिए । उनले आचार्यको साहित्यिक यात्रालाई नजिकबाट चिनाउने प्रयास गर्दै उनको लेखन यात्राको विशेष चर्चा गरेका थिए।

कृतिमाथि समीक्षा गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ टुकादेवी पौडेल आचार्यले संग्रहमा समावेश गीति कविताहरूमा मौलिकता रहेको उल्लेख गरिन् । उनले कृतिका सकारात्मक पक्षहरूको चर्चा गर्नुका साथै आगामी सिर्जनात्मक यात्राका लागि केही सुझावहरू पनि प्रस्तुत गरेकी थिइन्। ५९ वटा गीति कविता समेटिएको उक्त संग्रहले पाठकलाई संवेदनशील अनुभूति दिलाउने उनको भनाइ थियो ।

अलिमियाँ वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ तथा दीपशिखा साहित्य सङ्गमका अध्यक्ष गौरव ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिम्ब कवि तथा प्राज्ञ रमेश श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, स्रष्टा सावित्री आचार्य, दीपशिखा साहित्य सङ्गमका सल्लाहकार विपिन आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संग्रहभित्र समावेश केही गीति कविताहरूको वाचन पनि गरिएको थियो । प्राज्ञ सरस्वती श्रेष्ठ ‘सरु’, प्राज्ञ गायत्री पराजुली, गीता तिवारी, सुजन आचार्य तथा मुक्तक मञ्चका अध्यक्ष अम्बिका भण्डारीले कृतिभित्रका कविता वाचन गरी कार्यक्रमलाई साहित्यिक बनाएका थिए ।

कार्यक्रमको सञ्चालन दीपशिखा साहित्य सङ्गमकी महासचिव मनिषा लामिछानेले गरेकी थिइन् । लोकार्पण समारोहमा सहभागी साहित्यकार, कवि तथा साहित्यप्रेमीहरूले सावित्री आचार्यको नयाँ कृतिले नेपाली साहित्यमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0