पोखरा । पोखरा थिएटरको गन्धर्व नाटकघर शनिबार  केवल नाटक मञ्चनको स्थल मात्र बनेन, नयाँ पुस्ताका कलाकारहरूको सपनाले उज्यालिएको रङ्गमञ्चमा रूपान्तरण भयो । एक साताको अभिनय कार्यशालामा सहभागी भएका झण्डै ३५ प्रशिक्षार्थीले समूहगत र सोलो नाटकमार्फत समाजका विविध कथालाई जीवन्त बनाउँदा दर्शकले ताली मात्र बजाएनन्, नेपाली रङ्गमञ्चमा उदाउँदै गरेको नयाँ पुस्ताको सम्भावनालाई पनि नजिकबाट अनुभूत गरे । विशेषगरी महिलालाई लक्षित गरिएको कार्यशालाले आत्मविश्वास, अभिव्यक्ति र सिर्जनात्मक ऊर्जालाई एउटै मञ्चमा जोड्दै गन्धर्व नाटकघरलाई उत्साह र आशाको रङ्गमञ्च बनायो ।

उनीहरूलाई पाँच समूहमा विभाजन गरी नाटक तयार पार्न लगाइएको थियो। छोटो अवधिको अभ्यास र मार्गदर्शनपछि प्रस्तुत गरिएका नाटकहरूले दर्शकको मन जित्नुका साथै नयाँ कलाकारहरूको अभिनय क्षमता उजागर गर्न सफल भए ।

कार्यक्रममा प्रस्तुत नाटकहरूमा सामाजिक यथार्थ, महिला अनुभव, पारिवारिक सम्बन्ध, व्यक्तिगत सङ्घर्ष तथा मानवीय संवेदनाका विविध पक्षलाई कलात्मक ढङ्गले उठाइएको थियो। संवाद प्रस्तुति, शारीरिक अभिव्यक्ति, भाव सम्प्रेषण र मञ्चीय अनुशासनका कारण नाटकहरू प्रभावशाली बनेका थिए ।

पोखरा थिएटरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) परिवर्तनले सहभागीहरूको प्रस्तुति अपेक्षाभन्दा उत्कृष्ट भएको बताए। उनले जिम्मेवारीबोध, मेहनत र सिकाइप्रतिको प्रतिबद्धताका कारण छोटो समयमै सहभागीहरूले पूर्ण नाटकको अनुभूति दिलाउन सफल भएको उल्लेख गरे। “हामीले उनीहरूलाई सिकेको आधारमा नाटक तयार गरी प्रदर्शन गर्न लगाएका थियौं, तर उनीहरूको प्रस्तुति हेर्दा एउटा पूर्ण नाटक हेरेको अनुभूति भयो,” उनले भने।

उनले अभिनय क्षमतासँगै जिम्मेवारीबोध पनि कलाकारका लागि महत्त्वपूर्ण गुण भएको उल्लेख गर्दै सहभागीहरूलाई रङ्गमञ्चमा निरन्तर सक्रिय रहन आग्रह गरे। साथै पोखरा थिएटरले साउनको पहिलो सातादेखि नियमित नाटक मञ्चनको तयारी गरिरहेको जानकारी पनि दिए। नयाँ कलाकारलाई प्लेटफर्म उपलब्ध गराई अनुभव हासिल गर्ने अवसर प्रदान गर्दा उनीहरूको सिकाइमा परिपक्वता आउने विश्वास व्यक्त गर्दै उनले यस्ता कार्यशाला आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने सङ्केत गरे।

रङ्गकर्मी प्रमिला तुलाचनले महिलाका लागि रङ्गमञ्चीय क्षेत्रमा अघि बढ्न अझै चुनौतीहरू रहेको बताइन्। परिवारले कलाकारितालाई बुझ्न समय लाग्ने, घरेलु जिम्मेवारी र समय व्यवस्थापनका कारण महिलाले अतिरिक्त मेहनत गर्नुपर्ने अवस्थाबारे उनले चर्चा गरिन्। “महिलालाई लक्षित गरेर पोखरा थिएटरले कार्यशाला आयोजना गर्नु अत्यन्त सकारात्मक कदम हो,” उनले भनिन्। शनिबार मञ्चन गरिएका नाटकहरूले महिला कलाकारहरूको क्षमता, मेहनत र भविष्यको सम्भावनालाई स्पष्ट रूपमा देखाएको उनको धारणा थियो ।

रङ्गकर्मी नारायण न्यौपानेले पनि प्रस्तुतिहरूको प्रशंसा गर्दै सहभागी कलाकारहरूमा जन्मजात अभिनय क्षमता देखिएको बताए। “एक हप्ताको तालिमबाट मात्र यस्तो प्रस्तुति सम्भव भएको होइन भन्ने अनुभूति भयो। कलाकारहरूमा चरित्र प्रस्तुत गर्ने र प्रदर्शनलाई प्रभावकारी बनाउने क्षमता स्पष्ट देखिएको छ,” उनले भने। उनले केही कलाकारहरूमा विशेष सम्भावना देखिएको उल्लेख गर्दै अझ बढी मेहनत र निरन्तरताले उनीहरूलाई सफल रङ्गकर्मी बन्न मद्दत गर्ने विश्वास व्यक्त गरे। साथै प्रत्येक प्रस्तुति पूर्ण नाटकजस्तै अनुभूत भएको र नयाँ प्रतिभासँग सहकार्य गर्ने इच्छा जागेको पनि उनले बताए ।

कार्यक्रममा उपस्थित नाटकप्रेमीहरूले पनि नयाँ कलाकारहरूको प्रस्तुति उत्साहजनक र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए । उनीहरूका अनुसार यस्ता कार्यशालाले नयाँ पुस्तालाई रंगमञ्चप्रति आकर्षित गर्नुका साथै आत्मविश्वास, अभिव्यक्ति क्षमता र सामाजिक चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

गन्धर्व नाटकघरमा मञ्चन भएका यी प्रस्तुति केवल कार्यशालाको समापन कार्यक्रम मात्र नभई पोखराको रङ्गमञ्चीय क्षेत्रमा नयाँ पुस्ताको प्रवेश र सम्भावनाको उत्सवका रूपमा समेत हेरिएको छ। नयाँ कलाकारहरूको उत्साह र मेहनतले नेपाली रंगमञ्चको भविष्य थप उज्ज्वल बन्ने सङ्केत गरेको कार्यक्रमले देखाएको छ। कार्यक्रममा निरन्तर कार्यशाला र अभिनयमा भाग  लिएका कलाकारले सोलो प्रस्तुती मार्फत दर्शकको ध्यान खिचेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0