पोखरा । नेपाली राजनीतिमा महिलाको भूमिका, भुइँ मान्छेको सङ्घर्ष र भूमिगत आन्दोलनका प्रसङगलाई समेटेर लेखिका डा. बिन्दा पाण्डेका कृतिहरूमा पोखरामा परिचर्चा गरिएको छ ।
शनिबार र्यान्डम रिडर्स सोसाइटी नेपालको १२८औँ शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा स्ट्रगल रानाको अवधारणा पत्र सँगै पाण्डेका कृतिहरूको वैचारिक, साहित्यिक तथा सामाजिक पक्षमाथि छलफल गरिएको हो। कार्यक्रम “नेपाली राजनीतिमा महिला : भुइँ मान्छेदेखि भूमिगतसम्म” शीर्षकमा केन्द्रित रहेको थियो ।
अवधारणा पत्र प्रस्तुतकर्ता रानाले पाण्डेका कृती नेपाली राजनीतिक इतिहासको एउटा कालखण्डको महत्वपूर्ण दस्ताबेज भएको बताए । समाजको पिँधमा रहेका थुप्रै व्यक्तिहरू महिला, उत्पीडित, आदिवासी जस्ता भुइँ मान्छेको योगदानले समाज परिवर्तन सम्भव भएको हो भन्ने खोजको विषयमा पुस्तक केन्द्रित रहेको उल्लेख गरे ।
परिचर्चामा ढाकामोहन बराल, हसिना बस्नेत, धीरज परियार, गीता तिवारी, विष्णुप्रसाद बास्तोला, कृष्ण केसी, समीप बैरागी, लोचना अधिकारी, मोहनहरि पौडेल, माधव बास्तोला र मीरा ढकाललगायतले कृति तथा अवधारणा पत्रमाथि टिप्पणी गरेका थिए। वक्ताहरूले पाण्डेका लेखनमा नेपाली समाज, राजनीति, वर्गीय विभेद र लैङ्गिक असमानताका प्रश्नलाई सशक्त रूपमा प्रस्तुत गरिएको उल्लेख गरे । उनीहरुले केही जिज्ञाशा राखे भने सुझाब समेत दिए ।
परिचर्चाका क्रममा स्रष्टा पाण्डेले आफ्ना कृतिहरूको सिर्जना पृष्ठभूमि, त्यसमा उठाइएका राजनीतिक र सामाजिक सन्दर्भ तथा महिलाका अधिकारसम्बन्धी विषयमा सहभागीहरूले राखेका जिज्ञासाको उत्तर दिएकी थिइन् ।
उनले नेपाली राजनीतिमा महिलाले भोगेका चुनौती, सङ्घर्ष र परिवर्तनका लागि खेलेको भूमिकालाई आफ्ना कृतिमार्फत अभिव्यक्त गरिएको बताइन्। साथै, समाजमा महिलाको समान सहभागिता र अधिकार सुनिश्चित गर्न अझै सचेत बहस र निरन्तर प्रयास आवश्यक रहेको धारणा व्यक्त गरिन् ।
कार्यक्रम सोसाइटीका अध्यक्ष दीपक पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव ध्रुव केसीले सञ्चालन गरेका थिए ।
र्यान्डम रिडर्स सोसाइटी नेपालले हरेक महिनाको अन्तिम शनिबार साहित्यिक परिचर्चा कार्यक्रम आयोजना गर्दै आएको छ। सोसाइटीले यस्ता कार्यक्रममार्फत पाठकीय संस्कृति विकास, साहित्यिक बहसलाई प्रोत्साहन तथा समसामयिक विषयमा विचार आदानप्रदान गर्ने उद्देश्य राखेको जनाएको छ। कार्यक्रममा साहित्यप्रेमी, पाठक, लेखक तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
















