पोखरा । दोस्रो संस्करणको एकल नृत्य प्रतियोगिता ‘नृत्य संग्राम’ को उपाधि जुनियर एतर्फ इसानी आले मगर, जुनियर बीतर्फ कृपा गुरुङ र सिनियरतर्फ लाजिमा राईले जितेका छन्।

 बी टु डी डान्स स्कुल पोखराको आयोजनामा शनिबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न ग्राण्ड फिनालेमा तीन विधाका ३९ जना उत्कृष्ट प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धापछि विजेताको घोषणा गरिएको हो । ग्राण्ड फिनाले गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतियोगितामा जुनियर ए समूहको उपाधि इसानी आले मगर, जुनियर बी समूहको उपाधि कृपा गुरुङ र सिनियर समूहको उपाधि लाजिमा राईले जित्दै जनही ७० हजार रुपैयाँ नगद, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको मूल्याङ्कन निर्णायकको ७० प्रतिशत र अनलाइन भोटिङको ३० प्रतिशत अंकका आधारमा गरिएको थियो। प्रतियोगिताका निर्णायक संयोजक वरिष्ठ नृत्य निर्देशक कमल राई रहेका थिए भने निर्णायक सदस्यमा रविता मगर र समर्पण लामा रहेका थिए। बी टु डी डान्स स्कुलका संस्थापक अमन तामाङका अनुसार पारदर्शी र निष्पक्ष मूल्याङ्कन प्रणालीमार्फत विजेता छनोट गरिएको हो । जुनियर ए समूहमा नेरिसा गुरुङ फस्ट रनर्सअप, प्रान्सी बास्तोला सेकेन्ड रनर्सअप, एलिना नेपाली थर्ड रनर्सअप तथा दीपशिखा राई फोर्थ रनर्सअप बने । नेरिसाले पपुलर अवार्ड पनि हात पारिन् ।

त्यसैगरी जुनियर बी समूहमा स्रिमन मगर फस्ट रनर्सअप, प्रिया गुरुङ सेकेन्ड रनर्सअप, योजना गुरुङ थर्ड रनर्सअप र जेनिशा शर्मा फोर्थ रनर्सअप घोषित भए ।

सिनियर समूहमा नयन बराइली फस्ट रनर्सअप, आश्रीया केसी सेकेन्ड रनर्सअप, शिखा जिम्बा तामाङ थर्ड रनर्सअप तथा एन्जिल केसी फोर्थ रनर्सअप बन्न सफल भए ।

प्रतियोगितामा तीनवटै विधाका प्रथम रनर्सअपले जनही ३० हजार रुपैयाँ, दोस्रो रनर्सअपले २० हजार रुपैयाँ तथा तेस्रो रनर्सअपले १० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । यसैगरी सुजन्नी ल्वागुन, सृष्टी आले मगर र एन्जिल केसीले एभेन्टोज अवार्ड प्राप्त गरे ।

ग्राण्ड फिनालेमा प्रतियोगीहरूको उत्कृष्ट नृत्य प्रस्तुतिसँगै अतिथि कलाकार तथा विभिन्न कलाकारहरूको विशेष सांस्कृतिक नृत्य प्रस्तुति पनि आकर्षणको केन्द्र बनेको थियो। कार्यक्रमभर दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो भने सहभागीहरूले नेपाली नृत्यकला र प्रतिभाको उत्कृष्ट प्रदर्शन गरेका थिए ।

आयोजकका अनुसार ‘नृत्य संग्राम’ मार्फत नयाँ पुस्ताका नृत्य प्रतिभाको खोजी, प्रोत्साहन र उनीहरूलाई राष्ट्रिय स्तरसम्म अघि बढाउने उद्देश्य राखिएको छ। प्रतियोगिताले पोखरामा नृत्य संस्कृतिको विकास तथा युवा कलाकारलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने प्रभावकारी मञ्च प्रदान गरेको आयोजकको विश्वास रहेको छ । कार्यक्रमको सञ्चालन शैलताज कुवँरले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0