पोखरा । पोखरामा शुक्रबार आयोजित रोजगार मेला (पोखरा जब फेयर) मा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ। पोखरा उद्योग वाणिज्य संघ र ग्रोथ सेलर्स प्रालिको संयुक्त आयोजनामा तथा पोखरा महानगरपालिकाको प्रवर्द्धनमा बुलौंदीस्थित इभेन्ट सेन्टरमा सम्पन्न मेलामा चार हजारभन्दा बढी युवाको सहभागिता रहेको आयोजकले जनाएको छ। रोजगार खोज्ने एक हजार पाँच सयभन्दा बढी युवाले कार्यक्रमअघि नै पूर्वदर्ता गरेका थिए।

मेलाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रोजगारदाता संस्था र रोजगारीको खोजीमा रहेका युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले रोजगार मेलाको आयोजना गरिएको बताए । उनले महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘रोजगार’ एप मार्फत पनि रोजगारसँग सम्बन्धित सेवा प्रदान भइरहेको जानकारी दिए ।

प्रमुख आचार्यले महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत कम्तीमा २० जना समूह बनाएर तालिम वा व्यवसाय सञ्चालन गर्न इच्छुक युवालाई आवश्यक सहयोग उपलब्ध गराइँदै आएको उल्लेख गरे। सीपमूलक तालिमलाई प्राथमिकतामा राख्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने महानगरको नीति रहेको बताउँदै उनले यस्ता रोजगार मेलालाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले स्पष्ट शिक्षा नीति नहुँदा विश्वविद्यालयहरूले उद्योग व्यवसायलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नसकेको टिप्पणी गरे। उनका अनुसार अहिलेको आवश्यकता रोजगारी खोज्ने मात्र नभई उद्योग तथा व्यवसाय सञ्चालन गरी अरूलाई रोजगारी सिर्जना गर्न सक्ने जनशक्ति उत्पादन गर्नु हो।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले नेपालमा प्राविधिक तथा सीपमूलक जनशक्तिको अभाव रहेको उल्लेख गर्दै अबको शिक्षा र तालिम प्रणाली दक्ष जनशक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्ने बताए ।

पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोधबहादुर कार्कीले महानगरले विभिन्न तालिममार्फत धेरै युवालाई रोजगारीसँग जोड्न सफल भएको उल्लेख गर्दै रोजगार मेलाले अझ बढी अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।

रोजगार मेलामा बैंकिङ, बीमा, इन्टरनेट सेवा, होटल तथा पर्यटन, अटोमोबाइल, डिजिटल सेवा, मनोरञ्जनलगायत विभिन्न क्षेत्रका प्रतिष्ठित राष्ट्रिय तथा स्थानीय गरी ५१ कम्पनी सहभागी भएका थिए।

सहभागी युवाले कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष अन्तर्वार्ता दिनुका साथै आफ्नो योग्यता र अनुभवअनुसार उपलब्ध रोजगारीका अवसरबारे जानकारी लिन, पेशागत परामर्श प्राप्त गर्न तथा व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर पाएका थिए। मेलामा प्रवेश निःशुल्क गरिएको थियो।

ग्रोथ सेलर्स प्रालिका संस्थापक मोहन ओझाका अनुसार कम्पनीले विगतदेखि देशका विभिन्न सहरमा कलेजहरूसँग सहकार्य गरी रोजगार मेला सञ्चालन गर्दै आएको छ। पछिल्लो समय भने स्थानीय सरकार तथा उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै स्थानीय जनशक्तिलाई स्वदेशमै रोजगारीसँग जोड्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्न थालिएको उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, बिआरएस ग्रुपका विनोद रौनियार, पोखरा महानगरपालिका वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा कोइरालालगायतले रोजगारी, सीप विकास र निजी क्षेत्रको भूमिकाबारे धारणा राखेका थिए ।

आयोजकका अनुसार रोजगारदाता कम्पनी र रोजगारी खोज्ने युवाबीच समन्वय गर्ने जिम्मेवारी ग्रोथ सेलर्स प्रालिले निर्वाह गरेको थियो भने कार्यक्रम व्यवस्थापन पोखरा उद्योग वाणिज्य संघले गरेको हो। संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीनेशचन्द्र बास्तोलाले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव शोभा गौतमले गरेकी थिइन्।

रोजगारको खोजीमा पुगेका युवा तथा अन्य अवलोकनकर्ताले यस्ता रोजगार मेलाले रोजगारदाता र रोजगार खोज्नेबीचको दूरी घटाउने भएकाले नियमित रूपमा आयोजना गरिनुपर्ने प्रतिक्रिया दिएका छन् । सहभागीहरूको भनाइमा यस्ता कार्यक्रमले स्वदेशमै रोजगारीका अवसरबारे जानकारी दिने, सीपअनुसार उपयुक्त रोजगार छनोट गर्न सहयोग पुर्‍याउने र वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0