पोखरा । वरिष्ठ लोकगायिका तथा साहित्यकार हरिदेवी कोइरालाको कविता सङ्ग्रह ‘मायाको भूगोल’ शनिबार पोखरामा लोकार्पण गरिएको छ। कृति वरिष्ठ साहित्यकार काजी रोशन, बिम्बकवी रमेश श्रेष्ठ, रेडियो नेपाल पोखरा प्रशारण केन्द्रकी कार्यालय प्रमुख शान्ती गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का विखर्ची लगायतले संयुक्त्त रुपमा गरेका थिए ।
कार्यक्रममा साहित्यकार असफल गौतमले ‘मायाको भूगोल’ कृतिमाथि समीक्षा प्रस्तुत गर्दै सङ्ग्रहमा समेटिएका कविताहरूले प्रेम, मानवीय संवेदना, समाज र जीवनका विविध आयामलाई कलात्मक ढङ्गले अभिव्यक्त गरेको बताए। उनले कृतिले पाठकलाई भावनात्मक र वैचारिक रूपमा एकसाथ जोड्ने क्षमता राखेको उल्लेख गरे।
सोही कार्यक्रममा बागलुङका श्रष्टा वरिष्ठ साहित्यकार काजी रोशनलाई हरिदेवी कोइराला साहित्य पुरस्कार–२०८२ प्रदान गरी सम्मान गरियो । पाँच दशकदेखि साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा क्रियाशील काजी रोशनका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । पुरस्कार छनोट समितिका संयोजक लक्ष्मण थापाले सम्मानित व्यक्तित्व काजी रोशनको साहित्यिक योगदानबारे प्रकाश पार्दै नेपाली साहित्यमा उनको भूमिका महत्वपूर्ण रहेको बताए। कथा, कविता, निबन्ध तथा साहित्यिक गतिविधिमार्फत रोशनले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याएको योगदान अनुकरणीय रहेको उनको भनाइ थियो।
सम्मानसँगै रोशनले पुरस्कारबाट प्राप्त रकम लोक गायिका हरिदेवी कोइरालाका नाममा पुरस्कार स्थापना गर्न कोष खडा गर्ने घोषणा गरे । उनले सम्मानप्रति आभार व्यक्त गर्दै यसले साहित्य सिर्जनामा थप ऊर्जा प्रदान गरेको बताए।
कृतिकार हरिदेवी कोइरालाले आफ्नो कृति पाठकमाझ पुगेकोमा खुसी व्यक्त गर्दै साहित्य सिर्जना निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा वक्ताहरूले हरिदेवी कोइरालाको साहित्यिक तथा सांस्कृतिक योगदानको चर्चा गर्दै ‘मायाको भूगोल’ नेपाली साहित्यमा महत्वपूर्ण कृतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए। बिम्बकवी प्राज्ञ रमेश श्रेष्ठले साहित्य क्षेत्रमा काजी रोशनले पुर्याएको योगदानको चर्चा गरेका थिए । यस्तै प्रा.डा. जगन्नाथ रेग्मीले कोइरालाका रचना सरल र मार्मिक रहेको उल्लेख गरे ।
हिमालयन रिडर्स कर्नर, न्यूरोडमा आयोजित कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्व तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो। हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषद्वारा आयोजित समारोहको अध्यक्षता कोषका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले गरेका थिए। काेषका सदस्य कृष्ण प्रसाद पौडेलले स्वागत गरेको कार्यक्रम सञ्चालन कोषका सचिव पदमराज ढकालले गरेका थिए ।
















