पोखरा। मुक्तककार तथा समाजसेवी तेजनारायण अधिकारीको पहिलो मुक्तक सङ्ग्रह ‘मूलधार’ शनिबार पोखरामा लोकार्पण गरिएको छ। मुक्तक मञ्च केन्द्रीय समितिको आयोजनामा पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । कृतिमाथि पत्रकार तथा साहित्यकार असफल गौतमले समीक्षा प्रस्तुत गरेका थिए भने स्रष्टा परिचय मनकुमार श्रेष्ठले गराएका थिए।
मञ्चका आजीवन सदस्यसमेत रहेका अधिकारीको कृतिमा १ सय ४६ वटा मुक्तक समावेश छन्। कृतिको लोकार्पण पश्चात बोल्दै कृतिकार अधिकारीले सबैको साथ, सहयोग र समर्थनले आफूलाई थप ऊर्जा मिलेको बताउँदै आगामी दिनमा नयाँ साहित्यिक कृतिको तयारीमा जुट्ने प्रतिबद्धता व्यक्त जनाए ।
उनले मुक्तक मञ्चमा अझ सक्रिय रूपमा आबद्ध रहने समेत बताए। कोभिडको समयमा घरमा बस्दा पुस्तकहरु अध्ययन गर्ने क्रम बढेको त्यसले साहित्य रचना तर्फ अग्रसर बन्न प्रेरित गरेको खुलाए । आफ्ना विषयलाई समेटेर मुक्तक मार्फत पस्कने प्रयास आफूले गरेको प्रष्ट पारे ।
मुक्तक मञ्च केन्द्रीय समितिको अध्यक्ष अम्बिका दाहाल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, बिम्बकवी रमेश श्रेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठान का संस्थापक कुलपति सूर्य खड्का विखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल लगायतले ‘मूलधार’ मुक्तक सङ्ग्रह र स्रष्टा अधिकारीको साहित्यिक तथा सामाजिक योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा अम्बिका प्रसाद भट्टराई, सरला लामिछाने सरु, मनिषा लामिछाने, आकाश अधिकारी र बबिता अधिकारी लगायतले कृतिमा समावेश मुक्तक वाचन समेत गरे ।
मञ्चका कोषाध्यक्ष करण कपुर खनालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन निवर्तमान अध्यक्ष रामजी प्रसाद आचार्यले गरेका थिए ।
















