पोखरा । पोखरामा पछिल्लो समय देखिएको रगतको अभावलाई मध्यनजर गर्दै एमआरआरको आयोजनामा शुक्रबार सम्पन्न आकस्मिक रक्तदान कार्यक्रममा ७२ युनिट रगत संकलन गरिएको छ। कार्यक्रम नेपाल रेडक्रस सोसाइटी अन्तर्गत प्रदेश रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रेडक्रस कास्कीको सभाहलमा आयोजना गरिएको हो ।

 कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री सन्तोष अधिकारीले पहिलो रक्तदाता सुदीप कोइरालालाई ब्लड ब्याग हस्तान्तरण गर्दै गरेका थिए । उद्घाटनपछि बोल्दै मन्त्री अधिकारीले पोखरामा विशेषगरी एबी पोजेटिभसहित विभिन्न रक्त समूहको अभाव देखिएकाले तत्काल रक्त संकलन अभियान सञ्चालन गरिएको बताए। उनले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा ठूलो सामाजिक कार्यको रूपमा व्याख्या गर्दै सबै नागरिकलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरे। रक्तदान अभियानमा समुदायको सक्रिय सहभागिताले देखिएको अभाव क्रमशः पूर्ति हुँदै जाने विश्वास व्यक्त गर्दै रेडक्रसले आवश्यक व्यवस्थापन र समन्वय गरिरहेको जानकारी दिए।

कार्यक्रमका बारेमा जानकारी दिँदै एमआरआरका सक्रिय सदस्य जुपिटर पौडेलले रक्तसञ्चार केन्द्रबाट रगत अभावको जानकारी प्राप्त भएपछि तत्काल आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। उनले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव जीवन बचाउने उद्देश्यले अभियान सञ्चालन गरिएको उल्लेख गरे।

कार्यक्रममा विभिन्न क्षेत्रका युवा, सामाजिक अभियन्ता, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदानमार्फत संकलन भएको ७२ युनिट रगत उपचाररत बिरामीहरूको जीवन रक्षाका लागि उपयोग गरिने जनाइएको छ। जीवन बचाउने यस महान अभियानमा सहभागी भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाता, स्वयंसेवक तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबै व्यक्ति तथा संस्थाप्रति एमआरआर र नेपाल रेडक्रस सोसाइटीले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0