पोखरा। पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर सफाइ तथा संरक्षण अभियानलाई तीव्रता दिँदै खोलाघरभित्र रहेका संरचना हटाउने, ढल व्यवस्थापन गर्ने तथा भविष्यमा मापदण्ड विपरीत निर्माण रोक्न नगरवासीलाई आग्रह गरेको छ।
महानगरपालिकाले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै वडा नं. १८ को अँधेरीकुनादेखि वडा नं. ६ को गाईघाटसम्म फैलिएको फिर्केखोलाको खोलाघर क्षेत्रमा रहेका स्थायी तथा अस्थायी गरी १६० वटा संरचना हटाइएको जनाएको छ। उक्त संरचना हटाउने कार्यमा सहयोग पुर्याउने सम्पूर्ण महानगरवासीप्रति महानगरपालिकाले धन्यवाद व्यक्त गरेको छ।
महानगरपालिकाका अनुसार खोलाघर क्षेत्रमा रहेका केही संरचना आंशिक रूपमा मात्रै हटाइएका छन् । ती संरचनाका धनी तथा सम्बन्धित संस्था–व्यक्तिहरूले लिखित प्रतिबद्धता जनाइसकेको अवस्थामा तोकिएको समयभित्र बाँकी संरचना आफैं हटाउन आग्रह गरिएको छ।
संरचना हटाउने क्रममा निस्किएका भग्नावशेष व्यवस्थापन तथा सफाइका लागि महानगरपालिकाले एक्साभेटर, जेसिबी लगायतका उपकरणसहित प्राविधिक टोली र महानगरीय प्रहरी बल परिचालन गरेको जनाएको छ। यस अभियानलाई सफल बनाउन विगतमा जस्तै नगरवासीको साथ र सहयोग आवश्यक रहेको महानगरको भनाइ छ।
महानगरपालिकाले कतिपय स्थानबाट सिधै फिर्केखोलामा ढल मिसाउने गरिएको पाइएको भन्दै त्यस्ता कार्य तत्काल रोक्न निर्देशन दिएको छ। सूचना अनुसार सम्बन्धित व्यक्ति वा संस्थाले १० दिनभित्र मापदण्ड बाहिरको जग्गामा सेफ्टी ट्याङ्की तथा सोकपिट निर्माण गरी खोलामा ढल बिसर्जन गर्ने कार्य बन्द गर्नुपर्नेछ। अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने महानगरपालिकाले चेतावनी दिएको छ।
महानगरपालिकाले नगरवासीको हितलाई ध्यानमा राख्दै भवन तथा पूर्वाधार निर्माण मापदण्ड, २०८० मार्फत फिर्केखोलाको मापदण्ड १० मिटरबाट घटाएर ६ मिटर कायम गरिएको जानकारी दिएको छ। साथै ६ मिटर मापदण्डभित्र कुनै पनि नयाँ संरचना निर्माण नगर्न तथा नगराउन अनुरोध गरिएको छ।
महानगरपालिकाले फिर्केखोलाको मापदण्डभित्र निर्माण भएका संरचनाहरूको अवस्था, व्यवस्थापनका उपाय तथा प्रस्तावित फिर्केखोला कोरिडोर निर्माण परियोजनाबारे विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने जनाएको छ।
फिर्केखोला संरक्षण, वातावरणीय सुधार तथा फेवातालको दीर्घकालीन संरक्षणका लागि सञ्चालन गरिएको यो अभियानलाई महानगरपालिकाले निरन्तरता दिने बताएको छ।
फिर्केखोलाको खोलाघरमा निर्माण भएको विद्यालय भवन नहटाउन माग गर्दै लिटिल स्टेप स्कुल, पोखराले सम्मानित सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता गर्ने सहमति भएको छ।
विद्यालय प्रशासन र पोखरा महानगरपालिकाबीच भएको छलफलपछि विद्यालयले मुद्दा फिर्ता लिनुका साथै खोलाघरभित्र रहेको मुख्य भवनसहितका सम्पूर्ण संरचनाहरू पूर्ण रूपमा हटाउने प्रतिबद्धता जनाएको मेयर धनराज आचार्यले जानकारी दिएका छन् । विद्यालय सञ्चालनका लागि आवश्यक नयाँ भवन निर्माण प्रक्रियामा नक्सापासलगायतका कानुनी तथा प्रशासनिक कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने सहमति भएको उनले खुलाएका छन् ।
महानगरपालिकाले उक्त सहमतिले फिर्केखोला संरक्षण अभियानलाई थप प्रभावकारी बनाउनुका साथै कानुनी शासन, वातावरणीय संरक्षण र शैक्षिक संस्थाको दिगो व्यवस्थापनबीच सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। यस सहमतिसँगै फिर्केखोला अतिक्रमण हटाउने अभियानमा थप सकारात्मक वातावरण सिर्जना भएको महानगरपालिकाको भनाइ छ।















