पोखरा । विश्व वातावरण दिवसको सन्दर्भ पारेर पोखरामा वातावरण संरक्षण र पृथ्वी बचाउने सन्देश बोकेको नाटक ‘अर्थ २.० लोडिङ’ मञ्चन हुने भएको छ । जेठ १४ गतेदेखि पोखरामा मञ्चन सुरु हुने उक्त नाटकको तयारी तीव्र बनाइएको छ । जस अनुसार नाटकको रिहर्सल अन्तिम चरणमा पुगेको जनाइएको छ।

पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको याे नाटक ‘अर्थ २.० लोडिङ.. ’ जेठ १४, १५, १६ र १७ गते विशेष शोका रूपमा मञ्चन गरिनेछ । विश्व वातावरण दिवसलाई लक्षित गर्दै तयार गरिएको नाटकले पृथ्वी संरक्षण, वातावरणीय चेतना र मानव व्यवहारले प्रकृतिमा पारेको प्रभावलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नेछ ।

नाटकका लेखक तथा निर्देशक परिवर्तनले पृथ्वीलाई कसरी जोगाउने भन्ने मुख्य विषयलाई केन्द्रमा राखेर नाटक निर्माण गरिएको बताए । उनका अनुसार नाटक कमेडी शैलीमा तयार गरिएकाले दर्शकले मनोरञ्जनसँगै महत्वपूर्ण सन्देश पनि ग्रहण गर्न सक्नेछन् । उनले विशेषगरी कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी नाटक तयार गरिएको उल्लेख गर्दै विद्यालयहरूले समूहगत रूपमा शो बुक गरी विद्यार्थीलाई नाटक अवलोकन गराउन आग्रह गरेका छन् ।

उनका अनुसार जेठ महिनाभर तथा असारको केही समयसम्म पनि नाटक मञ्चन गरिने योजना छ । नाटक केवल विद्यार्थीका लागि मात्र नभई अभिभावक, वातावरण क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा वातावरणप्रति रुचि राख्ने सबै दर्शकले हेर्न मिल्ने गरी तयार गरिएको बताइएको छ ।

करिब एक घण्टा अवधिको यस नाटकमा निर्देशक परिवर्तनसँगै रमेश बाबु तिमल्सिना, रञ्जु दाहाल, उत्सर्ग सुवेदी, सुसन पौडेल र राहुल श्रेष्ठ को अभिनय रहनेछ ।

मञ्च निर्माणतर्फ विकास अधिकारी, विष्णुहरि नेपाल र विनिता बयलकोटी रहेका छन् । नाटकको संयोजन अवदेश मणि खनालले गरेका छन् भने बजार व्यवस्थापनमा विनिशा श्रेष्ठ र बक्स अफिसतर्फ विन्दु रेग्मी रहनेछन् ।

नाटक पोखरास्थित गन्धर्व नाटकघर मा मञ्चन हुनेछ । निर्देशक परिवर्तनका अनुसार नाटक केवल सूचना प्रवाहको माध्यम मात्र नभई यसमा थिएट्रिकल एलिमेन्टमार्फत दर्शकलाई सोच्न र अनुभूति गर्न प्रेरित गर्ने प्रयास गरिएको छ । उनले दर्शकलाई नाटक अवलोकन गरी यसले दिने वातावरणीय सन्देश आत्मसात गर्न आग्रह गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0