पोखरा । पोखरा महानगर पालिका वडा नं १७ ले खेलकुद सप्ताह आयोजना गर्ने भएको छ । “१७ नं.वडाको अभियानः खेलकुद मार्फत प्रतिभा पहिचान” भन्ने मुल नाराका साथ खेलकुद सप्ताह आयोजना गर्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । सप्ताह व्यापी खेलकुद कार्यक्रम यही जेठ १२ देखि १७ गते सम्म सञ्चालन हुनेछ।
खेलकुद सप्ताह अन्तर्गत विभिन्न ५ खेलहरु समावेश गरिएको पोखरा महानगर पालिका वडा नं १७ का अध्यक्ष राधिका कुमारी शाहीले जानकारी दिएकि छन् । उनले खेलकुद सप्ताह कार्यक्रमको तयारीमा तीव्रता दिइएको बताइन् । कार्यक्रम अन्तर्गत पाँचौ वडा अध्यक्ष कप फुटबल, दोस्रो सडक दौड, दोस्रो वडा अध्यक्ष कप खुला पुरुष डबल्स तथा छात्ररछात्रा व्याडमिन्टन, विद्यालयस्तरीय हाजिरी जवाफ र चौथो वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगिता हुनेछन् । प्रतियोगितालाई पोखरा १७ स्थित ड्याम साइड क्लब, पोखरा स्पोर्ट्स एण्ड ब्याडमिन्टन क्लब, छहारी टोल विकास संस्था, माइण्ड फ्रेस चेस क्लब, वडा बाल मञ्च तथा आमा समुहहरुको सहकार्य रहने वडाले जनाएको छ ।
प्रतियोगितामा विजेतालाई नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने वडा सदस्य तथा प्रतियोगिताका सञ्चार संयोजक विक्रम गुरूङले जानकारी दिए । वडा नं १७ लाई खेलमय बनाउने उद्धेश्यले यो कार्यक्रम गर्न लागिएको उनले बताए । सप्ताहव्यापी खेलकुद कार्यक्रममा विशेष गरी वडा भित्र रहेका २४ वटै विद्यालयहरुको सहभागिताले पनि युवा खेलाडी उत्पादनमा प्रभावकारी भूमिका खेल्ने उनले बताए ।
खेल सप्ताह सम्पन्न गर्न करिव १५ लाख खर्च लाग्ने अनुमान गरिएको वडा सचिब सुरेन्द्र प्रसाद शर्माले जानकारी दिए । जसको लागि वडाले १० लाख बजेट छुट्याएको छ । बाँकी रकम सहकार्य गरेका संस्थाले व्यवस्थापन गर्नेछन् ।
















