पोखरा । पृथ्वीनारायण क्याम्पस भूगोल विभागको आयोजनामा प्राध्यापक तथा अनुसन्धानकर्ताहरूका लागि तीन दिने क्षमता अभिवृद्धि कार्यशाला सुरु भएको छ। विश्वविद्यालयका प्राध्यापक एवं अनुसन्धानकर्ताहरूलाई जलवायु परिवर्तन, यसले पार्ने असर, जलवायु परिवर्तनको सामना, विश्वविद्यालयमा जलवायु परिवर्तन सम्बन्धी अध्ययन अनुसन्धान र जलवायु परिवर्तन न्यूनीकरण एवं अनुकुलताका बारेमा जानकारी दिई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यशाला आयोजना गरिएको हो ।
विश्वविद्यालय अनुदान आयोग सानोठिमी, भक्तपुरको सहयोगमा पृथ्वीनारायण क्याम्पस भूगोल विभागमा आयोजित कार्यशालामा पृथ्वीनारायण क्याम्पससहित पोखराका २ वटा विश्वविद्यालय र ८ वटा क्याम्पसका प्राध्यापक एवं अनुसन्धानकर्ताहरू सहभागी छन् । यससँगै पृथ्वीनारायण क्याम्पसका भौतिक शास्त्र, अर्थशास्त्र, समाजशास्त्र, भूगोल, शिक्षा, मानवशास्त्र, वनस्पति शास्त्र, सीएसआईटी विभागका विभागीय प्रतिनिधिहरू सहभागी छन् ।
कार्यशालामा जलवायु परिवर्तनसम्बन्धी नवीनतम अवधारणा, अनुसन्धान विधि र नीति तहमा प्रभाव पार्ने विषयमा छलफल तथा प्रशिक्षण हुने पृथ्वीनारायण क्याम्पस भूगोल विभाग प्रमुख डा. रामजी प्रसाद पोखरेलले जानकारी दिए ।
कार्यशालामा पहिलो दिन ४ वटा सेसन भएका छन् । जसमा त्रिभुवन विश्वविद्यालय भूगोल विभागका प्राध्यापक डाक्टर कृष्ण प्रसाद पौडेलले जलवायु परिवर्तनको अवधारणाबारे सहजीकरण गरेका छन् । जलवायु परिवर्तनको प्रभावबारे प्राध्यापक डाक्टर प्रेम सागर चापागाईं, हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण देखा परेको असरबारे डाक्टर ऋषिकेश पाण्डे तथा रिफ्लेक्सन अफ जियोग्राफी डिपार्टमेन्ट डिसीप्लीन एण्ड एनजिएस बारे प्रा. डा. प्रेम सागर चापागाईँ डा.रामजी पोखरेल र खगेन्द्र राज पौडेलले सहजीकरण गरेका छन् ।
तीन दिन सम्म चल्ने कार्यशालामा जलवायु परिवर्तन सम्बन्धी विभिन्न विषयमा प्रा.डा. प्रेम सागर चापागाईं, प्रा.डा. कृष्ण प्रसाद पौडेल, डा.लिला पुरी, डा.जीवन रेग्मी, अमृत भण्डारी, खगेन्द्र राज पौडेल, राजीव उपाध्याय, डा. रामजी प्रसाद पौडेल, नरेश पौडेल लगायतले सहजीकरण गर्ने छन् ।
कार्यशालामा गण्डकी विश्वविद्यालय, पोखरा विश्वविद्यालय, गुप्तेश्वर बहुमुखी क्याम्पस, कन्या क्याम्पस, नर्सिङ क्याम्पस, लेकसिटी कलेज, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, पोखरा मल्टिमोडल, फरेस्ट्री क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पसका प्राध्यापक तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ ।
पृथ्वीनारायण क्याम्पस प्रमुख प्रा.डा. हरि प्रसाद पाठकको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा विश्वविद्यालय गुणस्तर तथा सुनिश्चितता प्रत्यायन (क्यूएए) का संयोजक अमृत कुमार भण्डारी, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. कृष्ण प्रसाद पौडेल, त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रिय विभागका सदस्य प्रा.डा. प्रेम सागर चापागाईँ, अनुसन्धान तथा नवप्रवर्तन केन्द्र पृथ्वीनारायण क्याम्पसका सदस्य सचिव प्रा.डा. विकास कुमार केसी लगायतले बोलेका थिए ।
भूगोल विभाग प्रमुख डा. रामजी प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लक्ष्मण अधिकारी र कार्यक्रमको सञ्चालन खगेन्द्र राज पौडेलले गरेका थिए ।















