पोखरा । नेपाल डेरी एशोसिएसनले २६औँ अन्तर्राष्ट्रिय विश्व दुग्ध दिवस २०२६ को अवसरमा साताव्यापी विविध कार्यक्रम आयोजना गर्ने भएको छ। सङ्घले मङ्गलबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर दिएको जानकारी अनुसार दिवसको अवसरमा दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा, महिला कृषकको सम्मान तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणलाई केन्द्रमा राख्दै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।
उनका अनुसार यस वर्ष विश्व दुग्ध दिवसको अन्तर्राष्ट्रिय नारा “महिला कृषकहरूको सम्मान” रहेको छ भने नेपालका लागि “दुग्ध क्षेत्रको दिगो विकासः पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने राष्ट्रिय नारालाई आत्मसात् गरिएको छ।
अध्यक्ष दाहालले नेपालको दुग्ध क्षेत्र कृषि अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गरे । हाल देशभर दैनिक करिब ७५ लाख लिटर दूध उत्पादन हुने गरेको र त्यसमध्ये करिब २१ लाख लिटर दूध बजारमा प्रवेश गर्ने गरेको तथ्याङ्क प्रस्तुत गरिएको छ। बजारमा आउने दूधमध्ये १७ प्रतिशत औपचारिक रूपमा लेबलिङ तथा प्याकेजिङसहित बिक्री हुने गरेको छ भने बाँकी ८३ प्रतिशत दूध खुला तथा अनौपचारिक बजारमार्फत कारोबार हुने गरेको उनको भनाइ छ।
अध्यक्ष दाहालले अझै करिब ५० प्रतिशत दूध बजारमा आउन नसकेको उल्लेख गर्दै उत्पादन सङ्कलन, प्रशोधन तथा बजारीकरणमा थप चुनौती रहेको औँल्याए। निजी डेरी क्षेत्रबाट प्रत्यक्ष रूपमा करिब ५० हजार जनाले रोजगारी पाएका छन् भने लाखौँ किसान परिवार यस व्यवसायमा निर्भर रहेको उनको भनाइ छ ।
एसोसिएसनले निजी डेरी क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ लगानी रहेको र देशभर ६ हजारभन्दा बढी डेरी उद्योग सञ्चालनमा रहेको जानकारी दिएको छ। दैनिक करिब २१ लाख लिटर दूधको कारोबारबाट झण्डै २० करोड १५ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने र त्यसमध्ये ६ करोड रुपैयाँभन्दा बढी रकम गाउँतर्फ प्रवाह हुने एसोसिएसनको दाबी छ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि सङ्गठन ले सन् २००१ देखि जुन १ तारिखलाई विश्व दुग्ध दिवसका रूपमा मनाउँदै आएको छ। यस दिवसमार्फत स्वस्थ आहार, जिम्मेवार खाद्य उत्पादन, पोषण सुरक्षा तथा ग्रामीण जीवनमा दुग्ध क्षेत्रको योगदानबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको जनाइएको छ।
एसोसिएसनले जेठ १२ देखि १८ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ। कार्यक्रमअनुसार जेठ १२ गते पोखरामा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ भने जेठ १३ गते काठमाडौंमा विद्यालय तथा युवा प्रतिभाको सहभागितामा कविता प्रतियोगिता आयोजना गरिनेछ।
त्यसैगरी जेठ १४ गते काभ्रेमा उपभोक्ता सचेतना अभियान सञ्चालन गरिनेछ भने जेठ १५ गते देशभर दुग्ध क्षेत्रको प्रचारप्रसारसम्बन्धी गतिविधि गरिने सङ्घले जनाएको छ।
जेठ १८ गते ललितपुरमा राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा विश्व दुग्ध दिवस–२०८३ को बृहत् कार्यक्रम आयोजना गरिनेछ। सङ्घले विश्व दुग्ध दिवसको अवसरमा विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ। प्रतियोगिता जेठ १३ गते बिहान काठमाडौं इङ्लिस स्कूल, नक्सालमा आयोजना हुने जनाइएको छ।
वि।सं। २०५५ सालमा स्थापना भएको नेपाल डेरी एसोसिएसन देशभरका साना, मझौला, ठूला तथा घरेलु डेरी उद्योगहरूको प्रतिनिधित्व गर्ने राष्ट्रिय छाता सङ्गठन हो। संस्थामा सातै प्रदेशका २५ जिल्लामा फैलिएका करिब ३०० भन्दा बढी डेरी उद्योग आबद्ध रहेका छन्। संघले डेरी उद्योगीहरूको हकहित संरक्षण, नीतिगत समन्वय, संवाद तथा पैरवी गर्दै किसान–उद्योग–उपभोक्ताबीच समन्वय कायम गर्ने कार्य गरिरहेको जनाएको छ। एशोसिएसनका सचिव शिवहरी आचार्यले सञ्चालन गरेको कार्यक्रममा एसोसिएसन गण्डकी अध्यक्ष प्रविण कंडेलले पनि बोलेका थिए ।















