पोखरा । पोखराको हेमजामा “दोस्रो हेमजा मौरी महोत्सव” को तयारी तीव्र रूपमा अगाडि बढाइएको छ। आगामी जेठ ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवको पूर्व तयारीस्वरूप बिहीबार पोखरा महानगरपालिका–२५, हेमजा वडा कार्यालय प्राङ्गणमा आमभेला सम्पन्न भएको छ।
आमभेलामा महोत्सवको समग्र तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका विविध पक्षमा विस्तृत छलफल गर्दै जिम्मेवारी बाँडफाँड गरिएको छ। उपाध्यक्ष महादेव अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ।
भेलाले निम्न जिम्मेवारीसहित निम्न व्यक्तिहरूलाई उपसमिति संयोजकमा जिम्मेवारी दिएको छ। जसअनुसार सचिवालय तथा कार्यक्रम सञ्चालन संयोजक कपिलराज दाहाल, अर्थ सङ्कलन संयोजक मञ्जुल सुवेदी, स्वागत तथा सत्कार संयोजक धनकुमारी सुवेदी, प्रचारप्रसार संयोजक निराजन अधिकारी, महिला समूह व्यवस्थापन संयोजक अप्सरा तिमिल्सिना, महोत्सव व्यवस्थापन उपसमिति संयोजक दीपक थापा, सरसफाइ व्यवस्थापन संयोजक मेनुका भण्डारी, सांस्कृतिक तथा कलाकृति व्यवस्थापन संयोजक परशुराम अधिकारी, युवा व्यवस्थापन संयोजक राजु कुँवर, शान्ति तथा सुरक्षा व्यवस्थापन सामुदायिक सेवा केन्द्र, हेमजा तथा र्याली व्यवस्थापन समिति संयोजक लक्ष्मी अधिकारी रहेका छन्।
अन्य उपसमिति संयोजक एवं सदस्यहरू आगामी दिनमा आवश्यकता अनुसार जिम्मेवारी प्रदान गर्न सकिने आयोजकले जनाएको छ। उक्त आमभेलालाई सम्बोधन गर्दै पोखरा महानगरपालिका कार्यपालिका सदस्य तथा वडा नं। २५ हेमजाकी कार्यवाहक अध्यक्ष धनकुमारी पोखरेल तिम्सिनाले मौरी महोत्सवले कृषकहरूलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।
उनले वडा तथा महानगरले कृषक हितका यस्ता कार्यक्रमहरूमा निरन्तर सहयोग र सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन् ।
हेमजाको फुर्केटारी चोकमा आयोजना हुने महोत्सव मौरीपालन प्रवर्द्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको मौरी संरक्षण तथा सचेतना अभियान कास्कीका अध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार महोत्सवलाई सफल बनाउन स्थानीय सरोकारवाला निकाय, कृषक तथा सम्बन्धित पक्षहरूको सक्रिय सहभागिता आवश्यक छ।
आमभेलामा वडा नं. २५ का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, आमा समूह, युवा क्लब, सामाजिक व्यक्तित्व, विद्यालय प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
महोत्सवमार्फत मौरीपालनको महत्वबारे जनचेतना फैलाउने, उत्पादन वृद्धि गर्ने, बजारीकरण प्रवर्द्धन गर्ने तथा कृषकको आयआर्जनमा टेवा पुर्याउने लक्ष्य राखिएको छ। साथै, हेमजालाई मौरीपालनको नमुना क्षेत्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।
अध्यक्ष सुबेदीको अध्यक्षतामा सम्पन्न आमभेलामा स्वागत उपाध्यक्ष महादेव अधिकारीले तथा कार्यक्रमको सञ्चालन सचिव कपिलराज दाहालले गरेका थिए ।
















