पोखरा । बैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र मालती मङ्गले को प्रचारप्रसारलाई तीव्र पार्दै यसको कलाकार तथा निर्माण टिम पोखरा आइपुगेको छ। चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका मुख्य कलाकार र निर्माण टिमले चलचित्रबारे आफ्ना अनुभव र अपेक्षाहरू साझा गरेका छन्।
कार्यक्रममा बोल्दै प्रस्तुतकर्ता तथा चर्चित गायक रामकृष्ण ढकाल ले मालती मङ्गले विशुद्ध सामाजिक यथार्थमा आधारित फिल्म भएको बताए। उनका अनुसार चलचित्रले हाम्रो समाजमा भइरहेका वास्तविक घटना, सम्बन्धका उतारचढाव तथा भावनात्मक जटिलतालाई पर्दामा उतार्ने प्रयास गरेको छ। “यो फिल्म केवल मनोरञ्जनका लागि मात्र होइन, दर्शकलाई सोच्न बाध्य पार्ने खालको पनि छ,” उनले भने। विशेषगरी श्रीमान–श्रीमतीबीचको प्रेम, विश्वास, द्वन्द्व र पारिवारिक सम्बन्धको गहिरो पक्षलाई फिल्मले प्रस्तुत गर्ने उनको विश्वास छ।
नायिका वर्षा राउत ले ‘मालती’ पात्र आफ्नो अभिनय जीवनकै सबैभन्दा चुनौतीपूर्ण र महत्वपूर्ण भूमिका भएको बताइन्। उनले भूमिकामा न्याय गर्न निकै मेहनत गरेको उल्लेख गर्दै भनिन्, “यो पात्र भावनात्मक रूपमा निकै गहिरो छ, दर्शकले आफूलाई यसमा सजिलै जोड्न सक्नुहुन्छ।” सामाजिक कथामा आधारित फिल्म भएकाले दर्शकबाट सकारात्मक प्रतिक्रिया आउनेमा उनी आशावादी छिन्।
यसैगरी, नायक विजय बराल ‘मंगले’को भूमिकामा देखिँदैछन्। उनले गाउँघरको परिवेशमा आधारित कथाले दर्शकलाई आफ्नै जीवनको झल्को दिने विश्वास व्यक्त गरे। “हामीले समाजका वास्तविक घटना र सम्बन्धहरूलाई नजिकबाट देखाउने प्रयास गरेका छौं,” उनले भने। पोखरेली दर्शकप्रति आभार व्यक्त गर्दै उनले यसपटक पनि माया र साथ पाउने अपेक्षा व्यक्त गरे।
हास्यव्यङ्ग्यबाट चिनिएका कलाकार मेक्सम गौड्याल यस फिल्ममा फरक भूमिकामा देखिँदैछन्। विजय बरालको भाइको रूपमा प्रस्तुत हुने उनको पात्रले कथामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। “दर्शकले मलाई यसपटक नयाँ शैलीमा देख्नुहुनेछ,” उनले बताए।
रानी फिल्मस्को ब्यानरमा निर्माण गरिएको मालती मंगले मा रामकृष्ण ढकालको प्रस्तुति तथा लगानी रहेको छ। प्रकु पाण्डेय को निर्देशनमा बनेको यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन्। गाउँघरको परिवेश, पारिवारिक सम्बन्ध, प्रेम र यथार्थ कथालाई समेटेको यो फिल्मले दर्शकलाई भावनात्मक रूपमा जोड्ने निर्माण टिमको विश्वास छ।
यसैक्रममा प्रचारप्रसारलाई थप आकर्षक बनाउन टोलीले शनिबार पोखराको लेकसाइड क्षेत्रमा विशेष कन्सर्टको आयोजना गरेको छ। उक्त कन्सर्टमार्फत स्थानीय दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै फिल्मप्रति उत्साह बढाउने प्रयास गरिएको हो। पोखरामा देखिएको दर्शकको उत्साहले मालती मङ्गले प्रति चासो दिनप्रतिदिन बढिरहेको संकेत गरेको छ।
















