पोखरा । १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) गण्डकी प्रदेश कमिटीले श्रमिक दिवस विशेष कार्यक्रम गरि यो दिवस मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा गण्डकीका भौतिक पूर्वाधार तथा यातायातमन्त्री गोविन्द बहादुर नेपालीले लामो सङ्घर्षपछि संविधानमा श्रमिकको हक अधिकार सुनिश्चित गर्न सफल भएको बताउँदै नयाँ पुस्ताले यसबारे जान्नुपर्ने बताए । सामाजिक सुरक्षा कोष र सामाजिक सुरक्षा ऐन मजदुरहरूको सङ्घर्षबाट प्राप्त भएको बताउँदै यसबारे पढ्न र पढाइन जरुरी रहेको बताए ।

नेकपा एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीले सरकारले वास्तविक सुकुम्बासी पहिचान गरी उनीहरूको उचित व्यवस्थापन गरेर मात्र बस्ती हटाउनुपर्ने बताउँदै वास्तविक सुकुम्बासी पहिचान गरेर अगाडि बढ्नुपर्ने कुरामा एमालेको साथ रहेको बताए । पोखरामा सुकुम्बासी सङ्घर्ष समितिले यही बैशाख २१ गते गर्ने तय भएको आन्दोलनमा नेकपा एमालेको ऐक्यबद्धता रहेको उनले बताए ।

जिफन्ट गण्डकीका अध्यक्ष रुद्र बहादुर खत्रीले मजदुर वर्गको सङ्घर्ष र बलिदानबाट संविधानमा व्यवस्था गर्न सफल भएको सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाबाट मजदुर वर्ग नै वञ्चित हुनुपरेको बताए । संविधानले नै हरेक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने भनिएपनि त्यस्तो नभएको बताउँदै सर्वोच्चसम्म पुग्ने चेतावनी दिए । गण्डकी प्रदेशमा यातायात क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा जाने व्यवस्था गर्न सुरु गर्न मन्त्री नेपाली समक्ष आग्रह गरे ।

नेकपा एमालेका केन्द्रीय सल्लाहकार चूडामणि जङ्गलीले १ साउन २०७५ देखि सुरुवात भएको सुरक्षा कोष पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको चर्चा गरे । उनले सामाजिक सुरक्षा ऐन र श्रम ऐन सबैले पालना गर्नुपर्ने बताए । उनले मे दिवसलाई शक्ति आर्जन, आन्दोलन र परिवर्तनको रुपमा मनाउन सुझाव दिए ।

‘कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि, प्रविधिसँग प्रगति श्रमिकसँग समृद्धि’ भन्ने नाराका साथ भएको कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कास्की अध्यक्ष षडानन्द गौतम, निजी तथा आवासीय विद्यालय कर्मचारी युनियन  का केन्द्रीय अध्यक्ष शिवलाल उपाध्याय, जिफन्ट गण्डकी प्रदेश कमिटीका सचिव राजेन्द्र पौडेल, सहसचिव तीर्थराज मगर लगायतले श्रमिक दिवसबारे चर्चा गरेका थिए ।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यो दिवस मनाईंदै आइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0