पोखरा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई सरकारले विस्थापनभन्दा व्यवस्थापन गर्नुपर्ने बताएका छन् । पोखरामा सोमबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले अहिले अव्यवस्थित सुकुम्बासी वस्ती हटाउने कार्यलाई तीव्र पारेको सन्दर्भमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले आफूहरूले दिएको सुझाव नमानेको बताउँदै उनले राम्रो काममा ताली बजाउन पछि नहट्ने तर गलत गरेको अवस्थामा आवाज उठाउने बताए ।
अव्यवस्थित सुकुम्बासी वस्ती खाली गर्न सरकारले छोटो समयको अल्टिमेटम दिएको प्रति उनले गुनासो गरे । सरकारले सुकुम्बासी वस्ती हटाउने बाहेक अन्य कार्यमा पनि ध्यान दिनुपर्ने भन्दै अध्यक्ष राईले सरकारको ध्यानाकर्षण समेत गराए । उनले मेयर रहँदादेखि नै प्रधानमन्त्री बालेन्द्र शाहले भत्काउने काम गर्दै आएको बताउँदै विकास निर्माणको काम पनि गर्नुपर्ने बताए ।
सरकारले गरिब दुःखीलाई राहत दिनुको सट्टा नागरिकमा डर, त्रास सिर्जना गरेको बताउँदै वर्तमान सरकार असफल भएको बताए । साथै देशभरका अव्यवस्थित सुकुम्बासीहरुलाई एकजुट हुन आह्वान समेत गरेका छन् ।
श्रम संस्कृति पार्टी जिल्ला समन्वय समिति कास्कीको आयोजनामा भएको कार्यक्रममा केन्द्रीय सदस्य शान्ति पाख्रिन, आम जनता पार्टीका गण्डकी प्रदेश सह इन्चार्ज भोजराज त्रिपाठी, जिल्ला समिति अध्यक्ष हितकाजी गुरुङ लगायतले बोलेका थिए । उपाध्यक्ष दिल तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव पदम बहादुर गुरुङले गरेका थिए ।
















