पोखरा । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले कहिलेकाँही जनताकै मतबाट निर्वाचित प्रतिनिधिबाट निरङ्कुश शासनको जन्म हुन सक्ने बताएका छन् । शुक्रबार पोखरामा लोचना अधिकारीको कविता सङ्ग्रह शिशिरको एक्लो साँझ लोकार्पण गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् । अहिले सरकारको कामबारे पर्ख र हेरको अवस्थामा रहेको बताउँदै सरकार निरङ्कुश नबनोस् भन्ने भाव व्यक्त गरे । लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिदैँ उनले साहित्य सिर्जनाले अभिव्यक्ति स्वतन्त्रता जोगाउने बताए ।

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पोखरा र साहित्य शृङ्खला पोखराको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले लेख्ने कार्य सजिलो नरहेको बताए । साहित्यकार समेत रहेका ज्ञवालीले   महिलाहरूलाई लेख्न झनै चुनौतीपूर्ण रहेको बताउँदै अधिकारीले देखाएको साहसको प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले लोचना अधिकारीको कृतिमा समाजमा रहका विसङ्गति, विभेद, शोषण, उत्पीडन र मर्मको प्रतिविम्ब पाइने बताइन्

बिम्बकवि रमेश श्रेष्ठले समय जतिसुकै परिवर्तन भएपनि महिलाले भोग्नुपर्ने उत्पीडन र शोषणबाट  समाज मुक्त हुन नसकेको बताए । कवि अधिकारीको कृतिबाट समाजमा अझैपनि मुखले न्यायको गीत गाउने तर अवसर पाए आफै अन्याय गर्ने प्रवृत्ति छ भन्ने थाहा पाउन सकिने बताए ।

सहारा आधारभूत विद्यालयको प्रधानाध्यापक समेत रहेकी कवि लोचना अधिकारीले आफूले लोक छन्द, पद्य र गद्य छन्दमा कविता सङ्ग्रह तयार पारेको बताइन् । आफ्नो कृतिलाई दिएको मायाप्रति आभार व्यक्त गर्दै उनले निरन्तर लेखिरहने बताइन्

कार्यक्रममा बाम बुद्धिजीवी राधाकृष्ण लामिछानेले स्रष्टा परिचय दिएका थिए ।  सो अवसरमा छन्द नायक माधव वियोगी,  लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल, कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवाल, श्रष्टा अधिकारीका पिता तोयानाथ अधिकारी, दाइ डा.विश्वराज अधिकारी, साहित्यकार जीवनसागर भण्डारी लगायतले बोलेका थिए ।

 प्राज्ञ छन्दिका त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पोखराका सचिव लक्ष्मी थापाले गरेकी थिइन् भने साहित्य शृङ्खला पोखराका सचिव काजी गाउँलेले स्वागत गरेका थिए । सङ्गम साँस्कृतिक मञ्च नेपालले कवि अधिकारीका कवितालाई गीतीशैलीमा बाद्यवादनसहित प्रस्तुत गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0