पोखरा । पोखरा महानगरपालिका वडा नं.७ ले मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ। जस अनुसार मङ्गलबार गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको कम्पाउन्ड भित्र रहेको मापदण्ड विपरीतको संरचना डोजर लगाएर भत्काइएको छ ।
उद्योग तथा पर्यटन मन्त्रालय परिसरको घुम्तीमा भएको संरचनाका कारण दुर्घटना हुने गरेको भन्ने वडामा जानकारी भएकोले पटक पटक पत्राचार गरिएको थियो । त्यसपछि मन्त्रालयले बजेट छुट्याएर आफै हटाउँछौ भन्ने आश्वासन दिएपनि कार्यान्वयन भएन । बारम्बार ताकेता गर्दा पनि नहटाएपछि डोजर लगाएर हटाउनु परेकाे वडाध्यक्ष राममोहन आचार्यले जानकारी दिए । एक हप्ता अगाडि मन्त्रालयमा भन्दा हटाए हुन्छ हामी खाली गरिदिन्छौ भन्ने कुरा आएपछि सौहार्द्रपूर्ण वातावरणमा भत्काइएको उनले खुलाए ।
यो बाटो विद्यालय जान बढी प्रयोग हुने गरेकोले दुर्घटना हुनु पहिल्यै नै मापदण्ड क्लियर गर्न लागिएको उनको भनाइ छ । गत वर्ष सार्वजनिक सुनवाई गर्दा पनि यो विषयवस्तु उठेकोले समेत यो कदम चालिएको उनले बताए ।
वडाध्यक्ष आचार्यले मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने अभियानलाई निरन्तरता दिइने भन्दै यसमा सबैलाई साथ दिन आग्रह गरेका छन् । खानेपानी संस्थान देखि मालपोत जाने बाटोमा रहेको पर्खाल हटाउन पहल गर्ने उनले बताएका छन् । यस्तै मुख्यमन्त्री कार्यालय नजिक रहेको फुटट्रयाक हटाउन समेत पहल गरिने उनको भनाइ छ ।
वडाले शहरी सौन्दर्य कायम राख्न र दुर्घटना हुन नदिने उद्देश्यसहित यस्तो कदम चालेको जनाएको छ। वडाले यसअघि नै सूचना जारी गर्दै तोकिएको मापदण्डभित्र परेका अवैध संरचना हटाउन सम्बन्धित व्यक्ति तथा कार्यालयलाई अनुरोध गरेको थियो । संरचना नहटाएपछि अहिले डोजर प्रयोग गरी ती संरचनाहरू हटाउने कार्य सुरु गरिएको वडा कार्यालयले जनाएको छ।















